काठमाडौँ-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘क्रिसमस डे’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली इसाई धर्मावलम्वी दिदीबहिनी तथा दाजुभामा शुभकामना व्यक्त गर्नुभएको छ।
प्रत्येक वर्ष डिसेम्बर २५ तारिखको दिन ‘क्रिसमस डे’ लाई इसाई धर्मावलम्वीले धार्मिक-सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आएका छन् । यस अवसरमा उहाँले पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सम्पूर्ण इसाई धर्मावलम्वीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक हो। यिनै विविधताबीच मनाइने यहाँका विभिन्न चाड-पर्व, धार्मिक एवं सांस्कृतिक रितिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ। यी पर्वहरूले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएका छन्’, सभापति देउवाले भन्नुभयो।
‘क्रिसमस डे’ का अवसरमा सबैका घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै उहाँले शुभ-कामना व्यक्त गर्नुभएको हो।
प्रतिक्रिया