अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुलुक अप्ठ्यारोमा पर्दा कांग्रेस र एमाले एकै ठाउँमा उभिन्छ: ईश्वर पोखरेल

मुलुक अप्ठ्यारोमा पर्दा कांग्रेस र एमाले एकै ठाउँमा उभिन्छ: ईश्वर पोखरेल


काठमाडौं-नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय सङ्कटको बेलामा कांग्रेस र कम्युनिष्ट मिल्दै आएका बताउनुभएको छ।

नेपाल पत्रकार महासंघको नयाँ निर्वाचित केन्द्रीय समितिलाई बधाई तथा कार्य सफलताको शुभकामना दिन नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पोखरेलले ऐतिहासिक परिवर्तन गर्न र मुलुकको सङ्कट समाधान गर्न कांग्रेस र एमाले एक ठाउँमा उभिने गरेका बताउनुभयो। ‘मिलेर काम गरेका छन् र ऐतिहासिक जित हासिल गरेका छन्, राष्ट्रिय सङ्कट परेको बेलाका कांग्रेस र कम्युनिष्ट मिलेका छन्’, उहाँले भन्नुभयो।

देशमा अप्ठेरो स्थिति परेको बेलमा मिलेका भए पनि कांग्रेस र एमाले एक आपसका प्रतिस्पर्धी शक्ति हुन् भन्ने कुरा बिर्सन नमिल्ने पोखरेलले बताउनुभयो। कहिलेकाहीँ यो प्रतिस्पर्धा अस्वस्थ पनि हुने गरेको बताउँदै उहाँले त्यसलाई अस्वस्थ हुनबाट जोगाउन सबै लाग्नु पर्ने उहाँको धारणा छ।

पत्रकारको समाजमा दोहोरो भूमिका भएको बताउँदै पोखरेलले लेख्न बस्दा भने पत्रकारले व्यावसायिक धर्म बिर्सनु नहुनेमा उहाँको जोड छ। ‘पत्रकारिताको धर्म पालना गर्दा व्यावसायिकताको झण्डालाई झुक्न दिनु हुँदैन, यो कुरामा सन्तुलन कायम गर्नुपर्छ, मादल बजाउँदा हार्मोनियम छुट्ने, हार्मोनियम बजाउँदा मादल छुट्नु हुँदैन’, उहाँले भन्नुभयो।

पत्रकारिता क्षेत्रले सधैँ साँचो कुरा लेखिदिउन् भन्ने राजनीतिक क्षेत्रलाई लागि रहेन उहाँले बताउनुभयो। ‘झुट कुरा लेखेर बजारीकरण गर्न खोज्दा पीडा पनि हुन्छ, रिस पनि उठ्छ, दुःख पनि लाग्छ’, पोखरेलले भन्नुभयो।

एउटा राजनीतिकर्मीको प्राप्त गरेको हैसियत सार्वजनिक सम्पत्ति हुने पोखरेलले बताउनुभयो। त्यसलाई बदनाम गराउने अधिकार कसैलाई नहुने बताउँदै उहाँले उसले बदमासी गरे पब्लिक अडिट हुने पोखरेलको धारणा छ। सञ्चार माध्यमले कसैलाई पनि त्यतिकै फत्तुर लगाइदिन नमिल्ने पोखरेलले बताउनुभयो। त्यतिकै फत्तुर सहनु पर्ने अभिशप्त स्थिति आउनु नहुने उहाँले प्रष्ट पार्नुभयो । ‘यदि सञ्चार जगत् यो अनुहारमा प्रस्तुत भयो भने कस्तो देखिएला रु’ पोखरेलले प्रश्न गर्नुभयो।

राजनीति र सञ्चार क्षेत्रमा केही समस्या भए बसेर छलफल गर्नुपर्ने उहाँले बताउनुभयो । सबैको आधारभूत कुरा देश भक्ति भएको बताउँदै उहाँले सबैको एउटै उद्देश्य देशको रक्षामा केन्द्रित हुनुपर्नेमा पोखरेलले जोड दिनुभयो । ‘यो देशको रक्षा गर्नु सबैको कर्तव्य हो, तर देशको रक्षा छिमेकीलाई गाली गरेर मात्र हुँदैन, स्वाभिमानले शिर ठड्याउँदा मात्र देशको रक्षा हुन्छ’, उहाँले भन्नुभयो ।

नेपाल दुई ठुला देशको बिचमा रहेको बताउँदै पोखरेलले दुवै देशसँग सन्तुलित सम्बन्ध राख्नु पर्नेमा उहाँले जोड दिनुभयो। नेतृत्वले छिमेकीसँग आँखा जुधाएर गफ गर्न सक्के हैसियत राख्नु पर्ने उहाँको धारणा छ। ‘हामी छिमेकीलाई मुख छाडेर गाली गर्ने कुरा पनि गलत हो भन्छौँ, छिमेकीसँग घुँडा टेकेर गिडगिडाउने कुरा पनि गलत हो भन्छौँ’, उहाँले भन्नुभयो।
सञ्चार क्षेत्रले जियो पोलिटिकल सेन्सिभिटीलाई बुझेर काम गर्नुपर्ने उहाँले बताउनुभयो। छिमेकीलाई तथानाम गाली गर्ने र घुँडा टेक्ने दुवै कुराबाट जोगिएर अघि बढ्ने कुरामा ध्यान जानु पर्ने पोखरेलको धारणा छ।

यति बेला मुलुकको सङ्कट सामना गर्न ऐतिहासिक पृष्ठभूमि भएका दुई राजनीतिक पार्टी सरकारमा पुगेका कुरा बुझिदिन उहाँले पत्रकारहरूलाई आग्रह गर्नुभयो । कांग्रेस एमाले बाँडिचुँडी खान सरकारमा नगएको उहाँले प्रष्ट पार्नुभयो ।