रामेछाप-नेकपा एमाले रामेछाप खाँडादेवी गाउँपालिका कमिटीको पूर्ण बैठकले पार्टी पालिका कमिटीको आचारसंहिता बनाएको छ।
नेकपा एमाले पोलिटब्युरो सदस्य कमल चौलागाईँ, वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव माधव ढुङ्गेल, प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरिया लगायतका पदाधिकारी तथा सदस्यहरू समेतको उपस्थितिमा भएको बैठकले पार्टी भित्र राजनीतिक अनुशासन कायम गर्न आचारसंहिता बनाउने निर्णय गरेको हो ।
बैठकले पार्टी कमिटी र जनप्रतिनिधिको सम्बन्धलाई थप सुमधुर बनाउँदै पार्टी र जनप्रतिनिधिका कमलाई संस्थागत निर्णयका आधारमा अघि बढाउने आचारसंहिता बनाएको छ । पालिका सभा दललाई सक्रिय बनाइ नियमित बैठक राख्ने तथा गाउँपालिकाको बैठक अघि सभा दलको बैठक बसेर आवश्यक निर्णय लिने निर्णय बैठकले गरेको छ ।
पार्टीको विधान र संगठनको निर्णय उल्लङ्घन गर्ने काम कतैबाट नगर्ने, पार्टीका नेता र पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई होच्याउने तथा लान्छान लगाउने काम कतैबाट नगर्ने, पार्टीका काममा समस्या भए बैठकमा राखी समाधान खोज्ने निर्णय पनि बैठकले गरेको छ । पार्टी हित विपरीत अभिव्यक्ति दिनेलाई कारबाही गर्ने निर्णय बैठकले गरेको सो पार्टीको खाँडादेवी गाउँपालिका कमिटी अध्यक्ष मोतीलाल तामाङले जानकारी दिनुभयो ।
बैठकले पार्टी र सरकार विरुद्धका अनर्गल प्रचारको खुलेर प्रतिवाद गर्ने निर्णय पनि गरेको छ । यसको लागि सिङ्गो पार्टीपङ्ति एकढिक्क हुने प्रतिबद्धता व्यक्त गरिएको छ ।
बैठकले आठ जना सदस्यलाई गाउँपालिका कमिटीमा मनोनीत गरेको छ । त्यस्तै पुस मसान्त भित्र सबै वडाका बैठक सम्पन्न गर्ने निर्णय समेत बैठकले गरेको छ ।
प्रतिक्रिया