अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन


काठमाडौं-भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा गएराति निधन भएको छ।

पूर्वप्रधानमन्त्रीको निधनबारे दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)ले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । उनी उमेरसम्बन्धी स्वास्थ्य अवस्थाको लागि उपचार गरिरहेका थिए ।

बिहीबार घरमा अचानक बेहोश भएका उनलाई बेलुका ८ः०६ बजे नयाँ दिल्लीको एम्सको मेडिकल इमर्जेन्सीमा ल्याइएको थियो। धेरै प्रयास गर्दा पनि बचाउन नसकेपछि राति ९ बजेर ५१ मिनेटमा उनलाई मृत घोषित गरिएको थियो ।

पूर्वप्रधानमन्त्री सिंहको निधनमा भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि देशका ठूला नेता तथा धेरै व्यक्तित्वले दुःख व्यक्त गरिरहेका छन् । यसैबीच, भारत सरकारले आजका लागि तय भएका सबै कार्यक्रम रद्द गरी ७ दिने राष्ट्रिय शोकको घोषणा गरेको छ।

पूर्वप्रधानमन्त्री सिंहको पूर्ण राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिनेछ। उनको अन्त्येष्टि शनिबार हुने बताइएको छ।

मनमोहन सिंहको जन्म सन् १९३२ मा पञ्जाबमा भएको थियो। उनी सन् २००४ देखि २०१४ सम्म लगातार दुई कार्यकाल भारतका प्रधानमन्त्री थिए।

अटल बिहारी वाजपेयीको नेतृत्वमा रहेको एनडीएविरुद्ध २००४ को लोकसभा चुनावमा कांग्रेसको जितपछि उनले पहिलो पटक २००४ मा प्रधानमन्त्रीको शपथ लिएका थिए।

उनले सन् २००९ देखि २०१४ सम्म दोस्रो कार्यकाल सम्हालेका थिए। त्यसपछि २०१४ मा भाजपाका नरेन्द्र मोदीले उनको ठाउँ लिए ।

सिंहले ३३ वर्ष सेवा गरेपछि यसै वर्षको सुरुमा राज्यसभाबाट अवकाश लिएका थिए।