अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सबै क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्न आवश्यक छ: मुख्यमन्त्री कार्की

सबै क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्न आवश्यक छ: मुख्यमन्त्री कार्की


मोरङ-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्नुपर्ने आवश्यकता रहेको जनाउनुभएको छ ।

नेपाल बार एशोसिएसन महिला कानुन व्यवसायी महिलाहरूको ३१औँ राष्ट्रिय सम्मेलनको आज समापन कार्यक्रममा उहाँले न्यायसम्पादन, सरकारी क्षेत्र र सङ्घसंस्थामा महिलाको सहभागिता वृद्धिका लागि विशेष प्रोत्साहन गरी अवसर सिर्जना गर्नुपर्ने सुझाव दिनुभयो।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको कार्य क्षेत्राधिकार परेमा महिला कानुन व्यवसायीहरूको विराटनगर घोषणापत्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले महिला इमान्दार र सक्षम हुनाले उहाँहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उहाँले महिलाले घरसँगै समाज र राष्ट्रलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विचार राख्नुभयो।

मुख्यमन्त्री कार्कीले प्रदेशले विसं २०८२ मा मनाइने पर्यटन वर्षमा महिला कानुन व्यवसायीहरूको राष्ट्रियस्तरको कार्यक्रम यस क्षेत्रमा गर्न आग्रह गर्दै यसमा सरकारले विशेष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्थानीय पालिकालाई महिला कानुन व्यवसायी राख्न सुझाव दिँदै यसबाट पालिकाको न्यायसम्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले विराटनगरमा निर्माण गर्ने संरचनामा एउटा अन्तर्राष्ट्रियस्तरका सभाहल बनाउने योजनासहित काम भइरहेको जानकारी दिनुभयो।

नेपाल बार एशोसिएसन कानुन व्यवसायी महिला समितिका अध्यक्ष आशा राई, नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता चूडामणि आचार्य र नेपाल बारका पूर्वकेन्द्रीय सदस्य कविता बस्नेत थापालगायत वक्ताले महिलालाई कानुन व्यवसायीहरूमा आउनका लागि प्रेरणा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो। 

वरिष्ठ अधिवक्ता कविता बस्नेतले विराटनगर राष्ट्रिय सम्मेलनको ३१ बुँदे घोषणापत्र सार्वजनिक गर्नुभएको थियो। सो अवसरमा मुख्यमन्त्री कार्कीलाई महिला कानुन व्यवसायी समितिका अध्यक्ष राईले ३१ बुँदे घोषणापत्र हस्तान्तरण गर्नुभयो।