काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ।
आज सामाजिक सञ्जालमार्फत नोबेल पुरस्कारबाट विभूषित कार्टरको निधनप्रति प्रधानमन्त्री ओलीले दुःख व्यक्त गर्नुभएको हो। प्रधानमन्त्रीले कार्टरले परोपकार, मानव अधिकार र शान्तिका क्षेत्रमा पुर्याउनुभएको योगदानको स्मरण गर्नुभएको छ। साथै प्रधानमन्त्री ओलीले कार्टरका परिवार र अमेरिकी नागरिकप्रति समवेदना समेत प्रकट गर्नुभएको छ।
अमेरिकाका ३९औँ राष्ट्रपति कार्टरको एक सय वर्षको उमेरमा आइतबार जर्जियाको सानो शहर प्लेन्समा रहेको आफ्नै घरमा निधन भएको हो। उहाँकी श्रीमति रोजालिनको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो।
आफ्नो ८० को दशकमा कूटनीतिक मिसनहरू सञ्चालन गर्नुभएका कार्टरले ९० को दशकमा गरिबहरूका लागि घरहरू निर्माण गर्नुभएको थियो। पूर्वराष्ट्रपति कार्टरले नेपालमा पहिलो पटक भएको संविधानसभा निर्वाचनको पर्यवेक्षणका लागि नेपाल भ्रमण गर्नुभएको थियो।
प्रतिक्रिया