काठमाडौँ-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीबाट निकालिएका नेता भीम रावलले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएका आरोपहरू माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपाको समयमा लगाएको १९ पेज लामो पत्रको कपीपेस्ट जस्तो भएको टिप्पणी गर्नुभएको छ।
आज बसेको एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नमा उपमहासचिव ज्ञवालीले सो कुरा बताउनु भएको हो।
उपमहासचिव ज्ञवालीले नेता रावलको आरोप नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७७ साल कात्तिकमा लगाएको भन्दा भिन्न नरहेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘२०७७ कात्तिकमा नेकपा कालमा अध्यक्ष प्रचण्डले तत्कालीन अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीमाथि यिनै भाषा अभियोगहरू लगाउनु भएको थियो। शायद १९ पेजको थियो जस्तो लाग्छ। भीम रावलको हिजोको गालीगलोज पनि एक किसिमको कपिपेस्ट जस्तै हो नयाँ कुरा छैन।’
आरोप लगाएबाटै रावलमा कति धेरै नकारात्मकता भरिएको रहेछ भन्ने पुष्टि भएको उपमहासचिव ज्ञवालीको भनाइ छ। ‘गालीगलौजले देश बन्दैन। एक जमानामा प्रचण्ड र बाबुराम डिक्स्नेरीमा भएका शब्द खोजीखोजी गाली गर्नुहुन्थ्यो। रवि लामिछानेजीहरू त्यसैगरी उदाउनुभयो’, उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘हामी गालीगलौजको प्रतिस्पर्धामा छैनौं। देश बनाउने अभियानमा छौं। एमालेले त्यस्तो कुरालाई महत्व दिएर बस्दैन महत्वपूर्ण पनि ठान्दैन।’
प्रतिक्रिया