अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डलाई महेश बर्तौलाको आग्रह: समाज विभाजित गर्ने अभिव्यक्ति नदिनुहोला

प्रचण्डलाई महेश बर्तौलाको आग्रह: समाज विभाजित गर्ने अभिव्यक्ति नदिनुहोला


काठमाडौँ-नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समाज विभाजित हुने किसिमका अभिव्यक्तिहरु नदिन आग्रह गर्नुभएको छ।

आज (शुक्रबार) काठमाडौंमा पत्रकार महासंघले गरेको कार्यक्रममा प्रमुख सचेतक बर्तौलाले अध्यक्ष प्रचण्डलाई समाज विभाजित हुने किसिमका अभिव्यक्तिहरु नदिन आग्रह गर्नुभएको हो।

कार्यक्रममा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनुहुन्थ्यो।

प्रमुख सचेतक बर्तौलाले नेताहरुको अभिव्यक्ति, व्यवहार र कार्यशैली समाजलाई विभाजित गर्ने परिस्थितितर्फ उन्मुख भएको बताउनुभयो । उहाँले राजनीतिक नेतृत्वले समाजमा जहिले पनि सकारात्मक सन्देश संप्रेषण गर्न जरुरी रहेको बताउनुभयो।  उहाँले भने पदहरु अस्थायी रहेकाले सहिष्णुता कायम गर्ने र मुलुक र जनतालाई केन्द्रमा राखेर अघि बढ्ने कुरा नै स्थायी हुने उल्लेख गर्नुभयो।

प्रमुख सचेतक बर्तौलाले भन्नुभयो, ‘संसदीय राजनीतिमा हामी भर्खर नर्सरीका विद्यार्थी हौँ। यसो अहिले हेर्दा कहिले लाग्छ, सम्माननीय पूर्वप्रधानमन्त्रीज्यु यहीँ हुनुहुन्छ। हामीलाई यसो लाग्छ, कहिले कहीँ नेताहरुको अभिव्यक्ति, नेताहरुले गरेका व्यवहार, कार्यशैलीहरुले समाजलाई कताकता विभाजित गर्ने परिस्थिति विकास हुन खोजेको हो की भन्ने पनि लाग्छ।’

प्रमुख सचेतक बर्तौलाले समाज विभाजित गर्ने अभिव्यक्ति कसैले पनि दिन नहुने बताउनु भयो । ‘आजको संसदको गणितले सरकार यस्तै तरिकाले बनिरहने, भत्किने, लोकतन्त्रमा यसलाई स्वभाविक रूपमा लिनुपर्छ । पद भनेको अस्थायी कुरा हुन् । स्थायी कुरा भनेको सहिष्णुता कायम गर्ने र मुलुक र जनतालाई केन्द्रमा राखेर अघि बढ्ने कुरा हो । यी कुरामा पनि हामीले ध्यान दिनुपर्छ । हरेकले के सोच्नु पर्छ भने आगामी यात्रामा कुनै पनि घुम्तीमा कहिले पनि भेटै नहुने गरी अभिव्यक्ति आउने कुराले नेपालको राजनीति सफा हुन खोजिरहेको छैन।’

प्रमुख सचेतक बर्तौलाले राजनीतिक नेतृत्वबाट देशमा सकारात्मक सन्देश जाने गरीकन अभिव्यक्ति दिनुपर्ने बताउनुभयो।