काठमाडौं- नेकपा एमाले केन्द्रीय कमिटीको बैठक नौ महिना पछि आजदेखि सुरु हुदैछ ।
विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुने बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसुची रहेको छ ।
प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष ओलीको प्रतिवेदनमा विकसित राजनीतिक घटनाक्रम,सरकारका काम,पार्टीलाई सुदृढ बनाउन अपनाउनु पर्ने नीतिका सम्बन्धमा विभिन्न प्रस्तावहरु गरिनेछन् । यसैगरी पार्टी सुदृढिकरणका लागि माघ देखि चैत सम्म सञ्चालन हुने ‘जरा अभियान’को पनि घोषणा गरिनेछ ।
गौतमका अनुसार बैठकमा इच्छुक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेट पार्टीका सन्दर्भमा धारणा राख्न दिने तयारी गरिएको छ । बैठक भोली सकिने भनिए पनि ३४७ सदस्यीय एमालेको केन्द्रीय कमिटीका सबै सदस्यले धारणा राख्न चाहे भने बैठक केही दिन लम्बिने सम्भावना रहेको छ । पार्टी सचिवालयका एक पदाधिकारीका अनुसार पार्टीमा नेतृत्व हावी भयो,केन्द्रीय सदस्यहरुले सचिवालयका बैठक मात्र अनुमोलन गर्नुपर्यो भनेर गुनासो बढेपछि इच्छुक केन्द्रीय सदस्यलाई बोल्न पालो दिने तयारी गरिएको हो । ‘केन्द्रीय सदस्यले आफ्नो धारणा राख्दा पार्टीका सम्बन्धमा भूगोलका धेरै जानकारी नेतृत्वलाई पनि हुन्छ,कुन केन्द्रीय सदस्यको हैसियत र क्षमता पनि के कस्तो रहेछ भन्ने पनि थाहा हुन्छ ’ एक पदाधिकारीले भने ।
एमाले स्रोतका अनुसार आजको बैठक निर्धारित समय विहान ११ बजे नै र बैठक साँझ ७ बजेसम्म सञ्चालन गर्ने तयारी गरिएको छ । पार्टीको बैठकमा सहभागी हुनु परेकोले प्रधानमन्त्री ओलीले आज अन्य कार्यक्रम राख्नु भएको छैन । बैठकपछि साँझ ७ बजेसम्म बैठकमा सहभागी भएर बालुवाटारमा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको १५ औं बैठकमा प्रधानमन्त्री सहभागी हुने सचिवालयले जनाएको छ ।
प्रतिक्रिया