काठमाडौँ-नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक भोलिसम्म लम्बिने भएको छ। दोस्रो दिन अर्थात् पुस २२ गते बैठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसिरहेको हो।
हिजोदेखि सुरु भएको बैठक आज सकिने भनिएको भए पनि बैठक भोलिसम्म लम्बिने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘यो बैठक भोलि टुंगिन्छ। भोलि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले दिनुहुन्छ। र, अहिलेको समसामयिक परिस्थितिका बारेमा केही महत्वपूर्ण प्रस्तावहरु हामी पास गर्छौं र केन्द्रीय कमिटीको बैठक भोलि समापन हुन्छ।’
हिजो सुदुरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशका केही केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका छन्। हिजोको बैठकमा २७ जना केन्द्रीय सदस्यहरुले पार्टी सुदृढिकरण,पार्टीको भूगोलको अवस्था, कार्यकर्ताको चाहना र नेतृत्वको कार्यशैलीका बारेमा धारणा राखेका थिए।
अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले बोलिसकेको नेता गौतमले बताउनुभयो। उहाँले भन्नुभयो ‘भूगोलका ६४ जना र गैरभूगोलका १० जनाले आफ्नो कुरा राखेपछि अहिले पोलिटब्यूरो सदस्यहरुले बोल्न थाल्नु भएको छ।’
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि बोल्न तीन मिनेटको समय छुट्याइएको छ। एमालेमा ३३१ सदस्यीय केन्द्रीय कमिटी छ ।
प्रतिक्रिया