काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली खेलाडीले छोटाे अवधिमा नै अन्तर्राष्ट्रिय कृतिमान बनाएको बताउनु भएको छ।
युवा तथा खेलकुद मन्त्रालयद्वारा मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली खेलकुदलाई छोटो समयमा नै यो अवस्थामा पुर्याउन सफल भएको भन्दै खुसी व्यक्त गर्नुभयो।
खेलाडीलाई कानून नै बनाएर सरकारले सम्मानको व्यवस्था मिलाएको ओलीले बताउनुभयो। नेपालको खेलकुदको अनौपचारिक इतिहास धेरै पुरानो भए पनि औपचारिक इतिहास त्यति पुरानो नभएको ओलीले प्रष्ट पार्नुभयो। ‘यो छोटो समयमा पनि अनेक प्रयास भए’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
आजको खेल एकै पटक अहिलेको अवस्थामा नआइपुगेको उहाँले बताउनुभयो। सबैको प्रयास र खेलाडीको अथक परिश्रमले अहिलेको सफलता प्राप्त भएको ओलीले प्रस्ट्याउनुभयो। ‘यसमा खेलाडीहरूको धेरै ठुलो प्रयासको महत्त्व छ, तर सँगसँगै पुराना अनुभवहरूको महत्त्व छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
खेलकुदमा जितका लागि धेरै कुरा हुने भए पनि जितको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा खेलाडीको मनोबल नै भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘मनोबल दह्रो राख्यो भने जितिन्छ, म भन्दा जान्ने खेलाडी छ, जितिएला र भन्यो भने, पहिले नै हिम्मत हारियो भने जितिँदैन, खेल अलिक एग्रेसिभ नै खेल्नु पर्छ, एग्रेसिभ खेल भएन भने जित्न अलिक गाह्रो हुन्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो।
डिफेन्स गरेर मात्र खेल नजितिने बताउँदै ओलीले गोल गर्न बल हान्नै पर्ने बताउनुभयो। ‘पोष्टमा हान्नै पर्छ, अनि मात्र गोल हुन्छ, डिफेन्स मात्र गरेर पल्लो पोलमा बल पुर्याउन सकिएन भने कसरी गोल हुन्छ ?’, प्रधानमन्त्री ओलीले भन्नुभयो।
एग्रेसिभ खेल्नको लागि छिटो र फुर्तिलो खेल हुनुपर्नेमा उहाँले जोड दिनुभयो। यसको लागि टिम स्प्रिडमा खेल्नु पर्ने उहाँको राय छ। नेपाली खेलाडीको खेल छिटो र फुर्तिलो भएको भन्दै ओलीले प्रशंसा गर्नुभयो। यसका लागि खेलाडीलाई ब्यालेन्स डाइट र अभ्यास आवश्यक पर्ने ओलीले बताउनुभयो।
नेपाली खेल धेरै उत्कृष्ट भएको बताउँदै ओलीले नेपाली खेलाडीले जित्न नसक्ने कुनै खेल नभएको बताउनुभयो। उहाँले यसका लागि राम्रो तयारी भने गर्न आवश्यक रहेको धारणा राख्नु भयो।
नेपाल सरकार मन्त्रिपरिषद्को गत मङ्सिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा आज खेलाडीलाई पुरस्कार प्रदान गरिएको हो। प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ।
कार्यक्रममा साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ।
गत कात्तिक १ गतेदेखि १४ गतेसम्म काठमाडौँमा भएको साफ वुमन च्याम्पियनसिप, फुटबलमा पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवान लगायत तथा चीनको हाइजाओमा गत असोज १ गतेदेखि ७ गतेसम्म भएको बिसौँ एसियाली कराँते च्याम्पियनसिप पदक विजेता एरिका गुरुङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठलगायतलाई पुरस्कार प्रदान गरिएको छ।
यस्तै गत साउन १७ गतेदेखि २० गतेसम्म भुटानको थिम्पुमा भएको कावा बिच महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजेता कमला पुन, मनिषकुमारी चौधरी, प्रशिक्षक रुपेशकुमार विष्टलाई पुरस्कार प्रदान गरिएको हो।
प्रतिक्रिया