काठमाडौँ-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध गौरा पर्वमा १०/१२ जना लगाएर ‘केपी चोर देश छोड’ भन्ने नारा लगाउन लगाएको आरोप लगाउनु भएको छ।
एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा २०८१ पुस २१ गते आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटीको आठौँ बैठकको समापन सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले साे कुरा बताउनु भएको हो।
रावलले एमाले पार्टीको पक्षमा कहिलै बोलेनन् तर पार्टीको विरुद्धमा मिडियामा, टीभीमा, सामाजिक सञ्जाल फेसबुक, युट्युब आदिको माध्यमबाट धम्क्याउने, गाली गर्ने काम गरेको प्रधानमन्त्री ओलीले बताउनु भयो। रावल झगडा गरेर अरुलाई धम्काएर खान सिपालु मान्छे भएको समेत प्रधानमन्त्री ओलीले बताउनुभयो।
प्रधानमन्त्री ओलीले रावलको जिल्ला जाँदा नेपाली कांग्रेसका नेता तथा स्थानीयवासीहरुले स्वागत गरेका तर रावल देखासमेत नपरेको भन्दै आक्रोस पोख्नुभयो। ‘भीम रावललको जिल्ला जाँदा बरु कांग्रेसले फूलमालाले स्वागत गरे तर उहाँ देखा समेत परेनन्,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भीम रावल लडेर झगडा गरेर धम्काएर खान सिपालु मान्छे हो।’
बैठकमा केन्द्रीय सदस्यहरुले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट गरिएको निष्कासन र दुई नेतृमाथि गरिएको निलम्बन फिर्ता गर्न सुझाव दिएका थिए । ‘पिलो निचोरिँदैमा वजन नघट्ने जवाफ दिनुहुँदै’ एमाले अध्यक्ष समेत रहेका ओलीले कारबाही पुर्नविचार/पुनरावलोकन नहुने मात्र नभई उहाँहरुलाई कारबाही गर्नै ढिलो भएको जवाफ दिनुभएको थियाे। त्यस्तै स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिना पनि नसच्चिए उहाँहरुलाई पनि चाँडै पार्टीबाट निकाल्ने उहाँले चेतावनी दिनुभयो।
प्रधानमन्त्री ओलीले आफ्ना सन्तान नभएकाले पैसा धन सम्पत्तिको आवश्यकता नरहेको बताउनु भयो। आफूलाई पैसाको खाँचो नपरेकाले भ्रष्टाचार गर्ने कुरै नभएको उहाँको भनाइ थियो। प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म सन्तान नभएकोलाई किन चाहियो पैसा ? म बिरामी मान्छे पनि हुँ कति बेला के हुन्छ थाहा छैन।’
प्रतिक्रिया