काठमाडौं-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीभित्र अब कुनैपनि पूर्वसमूहहरु तथा गुट-उपगुट नभएको बताउनुभएको छ।
एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा २०८१ पुस २१ गते आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि समापन सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले साे कुरा बताउनु भएको हो।
प्रधानमन्त्री ओलीले पार्टीभित्र अब कोही पनि पूर्वमाले, पूर्वमाओवादी वा १० बुँदेजस्ता समूहहरु कायम नरहेकाले त्यस्ता पूर्वसमूहहरु खोज्नतिर नलाग्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, ‘नेकपा एमालेमा अब कुनै पनि पूर्वसमूहरु छैन। हामीले पूर्वसमूह खोज्नतिर होइन वर्तमानको एमाले खोजौँ। भरभराउँदो आजको एमाले खोजौँ। हामी यथास्थितिवादी होइनौं। क्रान्तिकारी हौं। हाम्रो लक्ष्य समाजवाद हो, समृद्ध नेपाल, सुखी नेपाली हो। हामीमाथि भएका आन्तरिक र बाह्य घेराबन्दीविरुद्ध एक भएर लड्दै हामीले मुलुक र देशको हितमा प्रभावकारी काम गर्न सक्नुपर्छ।’
प्रधानमन्त्री ओलीले विगतमा एकीकृत पार्टीलाई विभाजित गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालहरु लागेको उल्लेख गर्दै आलोचनाका विषय पार्टीभित्र राख्न सकिने तर लोकतन्त्रका नाममा पार्टीलाई ध्वस्त बनाउने खालको गुटबन्दी र अराजकता अस्वीकार्य नहुने स्पष्ट गर्नुभयो।
प्रधानमन्त्री ओलीले मुलुकलाई स्थायित्व र समृद्धिको लक्ष्यसहित एमाले र कांग्रेससहितको वर्तमान सरकारको तर्फबाट गर्नपर्ने कामहरु सक्दो गर्दै जाने विश्वास दिलाउँदै आफूहरु चुनावदेखि चुनावसम्मको केवल सत्ता–यात्रामा नरहेकाले समाजवादको लक्ष्य र गन्तव्यलाई ध्यानमा राखेर काम गरिरहेको स्पष्ट गर्नुभयो।
एमाले अध्यक्ष समेत रहेका ओलीले पार्टीका नेता–कार्यकर्ताहरुलाई सामाजिक सञ्जालको उपयोग बढाउन र भएका राम्रा कामको व्यापक प्रचार गर्न पनि आव्हान गर्नुभयो। प्रधानमन्त्री ओलीले असम्लग्न परराष्ट्र नीति र सन्तुलित छिमेक सम्बन्धको नीतिमा सदैव स्पष्ट रहेको स्मरण गराउँदै छिमेकीका विकासबाट नेपालले लाभ लिने बताउनु भयो।
प्रधानमन्त्री समेत रहेका ओलीले असंलग्न परराष्ट्र नीति र सन्तुुलित छिमेक सम्बन्धको नीतिमा सदैव स्पष्ट रहेको स्मरण गराउँदै छिमेकीका विकासबाट नेपालले लाभ लिने बताउनु भयो । नेपालको राजनीतिक नक्सामा सामेल भएको नेपाली भूमि फिर्ता गराएर छाडिने अठोट पनि व्यक्त गर्नुभयो।
प्रतिक्रिया