काठमाडौं-तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठक सकेर नेकपा एमालेका करीब साढे तीन सय नेताहरू उत्साहपूर्वक आफ्नो भूगोलमा फर्कदैछन्। विभिन्न विषयमा पार्टीमा भएका विवाद, बहस असमझदारीलाई अन्त्य गर्दै नयाँ उर्जा लिएर पार्टी निर्माणको अभिायनमा सफल पार्न आफूहरू भूगोलतिर प्रस्थान गरेको नेताहरुले बताएका छन्।
१०औं महािधवेशन पछि आठौं बैठकमा आइपुग्दा इच्छुक नेताहरूले पार्टी अध्यक्षसँग बैठकमै कुरा राख्ने अवसर पाएका छन्। एमालेले इच्छुक केन्द्रीय सदस्यहरूलाई बोल्न समय दिएपछि करीब १६० जना नेताहरूले पार्टीको ‘ग्राउण्ड रियालिटी’ नेतृत्वलाई बुझाएका छन्। जसले गर्दा नेतृत्वले पार्टी कार्ययोजना बनाउँदा फराकिलो दृष्टिकोण बनाउन सक्ने उनीहरुको बुझाइ छ। तीन दिन नै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूको धारणा सुनेपछि नेतृत्वले कार्यकर्ताका गुनासा सुन्दैन भन्ने भाष्य पनि एमालेमा खण्डित भएको उनीहरुको भनाइ छ।
९ महिना पछि भएको केन्द्रीय कमिटीको बैठक सकेर भूगोलको जिम्मेवारीमा फर्कदै गरेको केही नेताहरुसँग हामीले जनतामा के सन्देश लिएर जाँदै हुनुहुन्छ भनेर सोधेका थियौं। पार्टी स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका इन्चार्ज किरण गुरुङले पार्टीलाई जनताका बीचमा स्थापित गर्नुपर्ने मुख्य कार्यभार लिएर फर्कन लागेको बताउनुभयो। उहाँले एमालेमा गुटको गुञ्जायस नभएको, नेताका नाममा कसैलई पनि कुनै कमिटीमा गुटबन्दी नगर्ने कुरामा सबै सजग भएका र आफू मातहतमा कुनै पनि कमिटीमा गुटबन्दीका अध्यास बन्द गर्ने सन्देश आम कार्यकर्तामा प्रवाह भएको बताउनुभयो। ‘पार्टी अध्यक्षले बैठक समापनमा व्यक्त गरेको महत्वपूर्ण सन्देश जनतामा प्रवाह गर्नु हाम्रो प्रमुख दायित्व हो’ नेता गुरुङले भन्नुभयो, ‘एमालेमा अब पूर्व माले छैन, पूर्व माओवादी छैन र १० बुँदे समूह पनि छैन। जो जति छन् सबै भरभराउदा एमाले मात्र छन्। जनतामा यति कुरा बुझाउन सके पार्टीको सुदृढिकरण सम्भव छ।’
पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले सबै नेता पार्टी निर्माणका लागि वडामा केन्द्रीत हुनुपर्ने आठौं केन्द्रीय कमिटीको पहिलो सन्देश भएको बताउनुहुन्छ। पार्टी विस्तारका लागि वडा केन्द्रीत अभियान सञ्चालन हुन्छ। ‘केन्द्रले त्यसको खाका बनाएको छ। त्यसै अनुसार प्रदेश, जिल्ला, स्थानीय तह र वडाहरूले पनि कार्ययोजना बनाउछन् र कार्यान्वयन गर्छन्’ गौतमले भन्नुभयो, ‘पार्टी निर्णय अनुसार के कति काम भए भनेर उपल्लो कमिटीले सबैलाई अनुगमन र निर्देशन गर्छन्।’
एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा भोलिबाटै पार्टीका बैठक र कार्यक्रमको तालिका भएकोले आजै कार्यक्षेत्रतिर फर्किरहेको बताउनुहुन्छ। ‘तीन दिनसम्म मुल नेतृत्व देखि देशैभरीको पार्टीको अवस्था प्रत्यक्ष सुनियो। त्यसैले अब अन्यतिरका भेटघाट भन्दा आफ्नै भूगोलका जनतासँग भेटघाट बाक्लो बनाउनु पर्दछ’ नेता खतिवडाले भन्नुभयो, ‘पार्टी केन्द्रीय कमिटीले हामीलाई केही दायित्वबोध,केही जिम्मेवारी र केही उर्जा दिएर गाउँ पठाएको छ। त्यसको कार्यन्वयन गर्ने र नतिजा देखाउने काम अब केन्द्रीय सदस्यहरुले गर्नुपर्दछ।’
केन्द्रीय सदस्यहरूले कार्यकर्ता र जनतामा नीति र नेतृत्वमा कुनै गुटबन्दी नभएको, पार्टीले गरेका कारबाही जायज भएको,सरकारका काम जनमुखी भएको र प्रधानमन्त्रीको ध्यान समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्तीमा निरन्तर रहेको सन्देश आफूले जनतामा लैजाने खतिवडाले बताउनुभयो। ‘रुख बलियो हुन जरा लामा र माटोको गहिराईसम्म पुग्ने हुनु पर्दछ’ खतिवडाले भन्नुभयो, ‘त्यसैले पार्टी बलियो बनाउन एमालेले अब जरा केन्द्रित अभियान सञ्चालन गर्दछ। त्यो भनेको सबैभन्दा तल्लो प्रशासनिक युनिट वडा केन्द्रीत तीन महिने अभियान सञ्चालन गर्न हामी तत्पर भएका छौं।’
दाङ जिल्ला क्षेत्र नं. ३ प्रदेश (क) एवं युरोप अमेरिका प्रवासका इन्चार्ज घनश्याम पाण्डे वडा केन्द्रीत अभियानले पार्टी जरासम्मै जान खोजेको सन्देश दिन बताउनुहुन्छ। २०७९ माघदेखि चैतसम्म सञ्चालन भएको मिसन ग्रासरुट कै दोस्रो संस्करणको रुपमा यसपालीको वडा केन्द्रित अभियान आएको पाण्डेको भनाइ छ। ‘मिसन ग्रासरुट भाग-२ को रुपमा वडा केन्द्रित अभियान आएको छ’ पाण्डेले भन्नुभयो, ‘जनतामा विश्वास जगाउने, पार्टीप्रति आकर्षण बढाउने, पार्टी र सरकारले गरेका राम्रा कामको प्रचार घरघर पुर्याउने कामको जिम्मेवारी लिएर कार्यक्षेत्र फर्कदैछौं।’
केन्द्रीय सदस्य एवं कञ्चनपुर इन्चार्ज निरु देवी पाल जनताका घरघरमा पुग्ने दायित्व केन्द्रीय सदस्यलाई दिएर पार्टीले जनताका समस्या बुझ्न र समाधानको पहल गर्न पठाएको बताउनुहुन्छ। ‘वडा तहबाटै संगठन विस्तार गर्न ब्यापक कार्ययोजना बन्छ,पार्टीको हरेक कमिटीमा भएका सदस्यहरुको काँधमा पार्टीमा नयाँ मान्छे प्रवेश गराउने जिम्मेवारी हुन्छ’ पालले भन्नुभयो ‘मिसन-०८४ सफल पार्न एमाले जनताको दैलोमा पुग्नु पर्ने हुन्छ। पार्टी केन्द्रले तोकेको यो काम पुरा गर्न हामी सबै एकतावद्ध भएर लाग्छौं ।’ पालले विगतमा सरकारले गरेका र पार्टीले गरेका जनहितका निर्णय कार्यन्वयन गर्न पनि नेतृत्वलाई आग्रह गरिने बताउनुभयो ।
पार्टी केन्द्रिय सदस्य एवं संगठन विभागका प्रमुख माधव ढुंगेल केन्द्रीय कमिटी बैठकपछि सिंगो पार्टी फेरी एक पटक जनमत बढाउन लाग्ने बताउनुहुन्छ। ‘अब हाम्रा सबै कमिटीहरु पूर्ण रुपमा परिचालित हुनेछन्। त्यसका लागि सबै कमिटीहरुले कार्ययोजना बनाउनेछन्। त्यसलाई कार्यन्वयन गर्नेछन्’ ढुंगेलले भन्नुभयो ‘यी सबै कामको एकमुष्ठ परिणाम पार्टी थप बलियो हुनेछ। पार्टीका जग थप बलियो बन्नेछ।’
प्रतिक्रिया