काठमाडौं-बैंकिङ्ग समाचार र नेपाल बीमा प्राधिकरणको सहकार्यमा २०८१ पुस २५ गते हुने दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ मा नेपाल लाइफ इन्स्योरेन्सका सीईओ प्रवीणरमण पराजुली सहभागी हुने आयोजकले जनाएको छ। चार सत्र मध्येको तेस्रो सत्र ‘बीमामा प्रविधिको उदय, चुनौती र अवसरहरु’ मा वक्ताका रुपमा सहभागी पराजुली हुने भएका हुन् ।
सीईओ पराजुलीले २०२२ जुलाई २० देखि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यभार सम्हाल्दै आउनुभएको छ। उहाँले सीईओमा नियुक्त हुनुअघि नेपाल लाइफमा नै डिसीईओको कार्यभार सम्हालिसक्नुभएको छ। उहाँले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा चार वर्षको कार्यकाल पूरा गरिसकेका छन् भने पराजुलीले काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टबाट एमबीए गरेका छन्। उहाँले एसईईसम्म नेपालमा अध्ययन गरे तर एसईई पश्चात चण्डीगढबाट सिनियर स्कूल सर्टिफिकेट परीक्षा र भारतको मँगलोर विश्वविद्यालयबाट ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट पूरा गरेका हुन्।
पराजुलीसँग नेपालका बीमा र वित्तीय क्षेत्रहरूमा लगभग २० वर्ष कार्य गरेको अनुभव छ। उहाँले २००२ मा डाबर नेपाल प्राइभेट लिमिटेडबाट आफ्नो करियर सुरु गरेका थिए । २००३ मा उनले एनएमबी बैंक लिमिटेडको लगानी (मर्चेन्ट) बैंकिङ्ग विभागमा रिलेशनशिप म्यानेजरको रूपमा पनि काम गरेका छन् । त्यसपछि २००९ मा उनले नबिल बैंक लिमिटेडको मर्चेन्ट बैंकिङ्गको प्रमुखको रूपमा कार्यभार सम्हाले । त्यस्तै, उहाँले २०१० देखि २०१७ सम्म नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका सीईओका रूपमा काम गर्नुभएको थियो । पराजुली २०१५ देखि २०१७ सम्म नेपाल मर्चेन्ट बैंकर्स एसोसिएशनका अध्यक्ष पनि हुनुभएको थियो।
बैंकिङ्ग समाचार डट्कमको आयोजना तथा रिलायबल लाइफ इन्स्योरेन्सको मुख्य प्रायोजनमा पुस २५ गते दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ आयोजना हुने भएको हो। कार्यक्रमको उद्घाटन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्नुहुने आयोजकले जनाएको छ ।
कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने आयोजकले जनाएको छ। मुख्यरुपमा सो कार्यक्रममा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरु, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरु, बीमामा प्रविधिको उदय, चुनौती र अवसरहरु, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार, व्यवसाय वृद्धिमा छलफल हुने छ । दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ ले बीमा क्षेत्रका समस्याहरुको समाधान खोज्न सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया