काठमाडौं-दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ मा वक्ताका रूपमा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदी सहभागी हुने आयोजकले जनाएको छ। छलफलको दोस्रो सत्र ‘निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोध’ शीर्षकमा हुने छलफलमा वक्ताका रूपमा सुवेदी सहभागी हुने भएका हुन् ।
सुशील देव सुवेदी नेपाल बीमा प्राधिकरणका निर्देशक हुन्। सुवेदीले २०८१ असार १ गतेदेखि प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी समेत सम्हालिसक्नुभएको छ। सुवेदीले बीमा क्षेत्रमा १९ वर्ष बिताइसकेका छन्। प्राधिकरणका निर्देशक सुशील देव सुवेदी तत्कालीन बीमा समितिमा २०६३ साल वैशाखमा प्रवेश गर्नुभएको हो । राजधानीको कुनै कलेजमा स्नातकोत्तर तहका विद्यार्थीलाई बीमा विषय पढाउँदै आएका उहाँले अब पढाउन छोडेर प्रतिष्ठानले दिने शिक्षा र तालिमलाई नै बलियो बनाउने निर्णयमा पुगेका छन् ।
सुवेदीले स्नातकोत्तर तहकै विद्यार्थीका लागि तीन वटा बीमासम्बन्धी पुस्तक समेत प्रकाशित गरेका छन्। २०६१ सालमा शंकरदेव कलेजबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका उहाँले अंग्रेजी संस्करणमा लेखेका बीमासम्बन्धी पुस्तकहरू ‘स्र्टाटेजिक म्यानेजमेन्ट’ ‘बिजनेश इन्भायोरमेन्ट’ र ‘इन्डिपेन्डेन्ट इन्टरप्रेनरसिप डेभलपमेन्ट’ हुन् । सुवेदी विभिन्न अनुसन्धानसम्बन्धी प्रतिष्ठानमा समेत आबद्ध छन् । उहाँले आफूलाई एक अनुभवी र प्रभावशाली व्यक्तिको रूपमा स्थापित गरेका छन्।
बैंकिङ्ग समाचार डट्कमको आयोजना तथा रिलायबल लाइफ इन्स्योरेन्सको मुख्य प्रायोजनमा पुष २५ गते दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ आयोजना हुने भएको हो। अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा कार्यक्रमको उद्घाटन गर्नुहुने छ । उक्त कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ।
मुख्यरुपमा सो कार्यक्रममा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरु, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरु, बीमामा प्रविधिको उदय, चुनौती र अवसरहरु, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार, व्यवसाय वृद्धिमा छलफल हुने छ। दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ ले बीमा क्षेत्रका समस्याहरुको समाधान खोज्न सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया