काठमाडौं-अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु)ले आयोजना गरेको स्ववियु निर्वाचन केन्द्रित दुई दिने राष्ट्रिय कार्यशाला सफल भएको जनाएको छ।
पुस २५ र २६ गते ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको सभा हलमा भएको कार्यक्रम पूर्ण रूपमा सफल भएको अनेरास्ववियुका अध्यक्ष समिक बडालले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको कार्यशालामा देशभरिका अनेरास्ववियुका जिल्ला अध्यक्ष, पार्टीका विद्यार्थी इन्चार्जहरू, विश्वविद्यालयका स्ववियु सभापति लगायतको सहभागिता रहेको बडालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।
एमाले अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यता तथा महासचिव शंकर पोखरेलको विशिष्ट आतिथ्यतामा भएको कार्यशालामा अनेरास्ववियुका पूर्वअध्यक्ष तथा नेकपा एमालेका सचिव योगेश भट्टराई, नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, अनेरास्ववियुका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री अनेरास्ववियु पूर्वअध्यक्ष हिक्मत कार्की, अनेरास्ववियुका पूर्वअध्यक्ष तथा नेकपा एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल, अनेरास्ववियुका पूर्वअध्यक्ष तथा नेकपा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, अनेरास्ववियुवका पूर्वअध्यक्ष तथा नेकपा एमाले पोलिटब्युरो सदस्य ठाकुर गैरे, अनेरास्ववियु पूर्वअध्यक्ष रुपनारायण श्रेष्ठ, अनेरास्ववियु पूर्वअध्यक्ष तथा नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेल, अनेरास्ववियु पूर्वअध्यक्ष तथा नेकपा एमाले केन्द्रीय सदस्य एवं विद्यार्थी फाँट इन्चार्ज किशोरविक्रम मल्ल, अनेरास्ववियुका पूर्वअध्यक्ष नबिना लामा, अनेरास्ववियु पूर्वअध्यक्ष ऐन महर, सुनिता बराल, लगायत नेताहरूको उपस्थिति रहेको थियो ।
उद्घाटन सत्रमा अनेरास्व्वियु केन्द्रिय कमिटीद्वारा विद्यार्थी दिवसको अवसरमा गत जेठ १(३ सम्म आयोजित विद्यार्थी महोत्सवको दस्तावेजिकरण गर्ने पुस्तक विद्यार्थी महोत्सव २०८१ को लोकार्पण गरिएको थियो ।
कार्यशालाको पहिलो दिन विभिन्न विषयवस्तु समेटेर कार्यपत्र पेश गर्नुका साथै त्यसमा छलफल गर्न भूगोल र विश्वविद्यालय क्षेत्र गरी ९ समूह विभाजन गरेर छलफल गरिएको उहाँले जानकारी दिनुभयो । विद्यार्थी आन्दोलनको कार्यदिशालाई बदली आजको सन्दर्भमा विद्यार्थी आन्दोलनलाई थप रचनात्मक कसरी बनाउन सकिन्छ भन्ने धेयका साथ समूहगत छलफल भएको थियो ।
कार्यशालाको दोस्रो दिन पार्टीको तर्फबाट केन्द्रीय कमिटी र पार्टीका ७ वटै प्रदेश कमिटीका विद्यार्थी इन्चार्जहरूसँग प्रदेश र जिल्लागत तहमा स्ववियु निर्वाचन केन्द्रित योजना तर्जुमा गर्न छलफल गरिएको थियो । सो छलफलका सुझावहरूका आधारमा माघ ६ गतेदेखि बस्ने केन्द्रिय कमिटीको बैठकबाट थप योजना बनाइने बडालले जानकारी दिनुभयो ।
स्ववियु निर्वाचनको सन्दर्भमा र त्यसमा केन्द्रित रहेर आयोजना गरिएको कार्यशालामा अनेरास्ववियुको जित कसरी सुनिश्चितता गर्न सकिन्छ र स्ववियु चुनावलाई कसरी विद्यार्थी आन्दोलनको परिभाषा बदल्ने माध्यम बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।
सामाजिक सञ्जालको दुरुपयोग गरी तथ्यहीन र भ्रामक सूचना सम्प्रेषण गरी नेकपा एमाले नेतृत्व विरुद्ध घेराबन्दी गरी गरिएको कुप्रचारको प्रतिवाद गर्ने कार्यशालाले निर्णय गरेको छ । सत्य तथ्य सूचना सम्प्रेषण गर्ने र सामाजिक अराजकताका विरुद्ध कानुनी शासनको पक्षमा दृढका साथ उभिएर विद्यार्थीहरूलाई संगठित गर्ने प्रतिबद्धता कार्यशालाले जाहेर गरेको छ ।
फागुन १५ सम्म संगठनको सबै गतिविधि क्याम्पस केन्द्रित गरी संगठनलाई देशै भरि परिचालन गर्ने गरी कार्यशाला सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया