काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेविरुद्ध अहिले गरिएको घेराबन्दी एमाले फुटाउने बेलामा गरेको घेराबन्दी जत्तिको नभएको बताउनुभएको छ।
सोमबार नेकपा एमाले दाङले विजौरियामा गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राष्ट्रलाई नै कमजोर पार्ने गरी गरिएको षडयन्त्रलाई त परास्त गराएर अघि बढेको एमालेलाई अहिलेको घेराबन्दी ठुलो नभएको बताउनुभयो। ‘अहिले पार्टी नेतृत्व माथि गरिएको घेराबन्दी हाम्रो लागि सामना गर्न नसकिने विषय होइन, हाम्रो आन्दोलनको शालीनता र शिष्टतालाई हाम्रा विरोधीहरूले कमजोरीका रूपमा देखेका छन्’, महासचिव पोखरेलले भन्नुभयो।
अहिले पार्टी माथि साइबर हमला भइरहेको बताउँदै महासचिव पोखरेलले भ्रमपूर्ण सूचनाबाट नेकपा एमाले र त्यसको नेतृत्वको तेजोवध गर्ने प्रयत्न भइरहेको बताउनुभयो। सामाजिक सञ्जाल मार्फत एमाले र एमाले नेतृत्व मार्फत नियोजित आक्रमण गरेर जनतामा भ्रम सिर्जना गरिएको भन्दै महासचिव पोखरेलले पार्टी पंक्तिले त्यसको डटेर सामना गर्नुपर्नेमा जोड दिनुभयो।
उनीहरूको प्रतिवाद अराजक हिसाबले होइन सैद्धान्तिक र शालीन रूपमा गर्नुपर्ने महासचिव पोखरेलले बताउनुभयो। सामाजिक सञ्जाललाई प्रचारको सशक्त माध्यम बनाउनु पर्ने महासचिव पोखरेलको धारणा छ। जनतालाई काम लाग्ने विषय लिएर सामाजिक सञ्जालमा उपस्थित हुनुपर्नेमा उहाँले जोड दिनुभयो। ‘अब प्रचारको सशक्त माध्यमा सामाजिक सञ्जालको प्रयोग र परिचालन हुनुपर्दछ’, महासचिव पोखरेलले भन्नुभयो।
नेकपा एमाले कमजोर हुनुको परिणाम के हुने रहेछ भन्ने कुरा देशले पलपल अनुभव गरेको उहाँले बताउनुभयो। एमाले कमजोर हुँदा देशको विकास निर्माणको काम ठप्प हुने महासचिव पोखरेलको धारणा छ।
एमाले नेता कार्यकर्ता पनि जनताको बिचमा कम जान लागेका भन्दै महासचिव पोखरेलले यसलाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो। चुनावका बेलामा मात्र जनताको बिचमा गएर जनताको विश्वास जित्न नसकिने उहाँको धारणा छ। पार्टीले काम गर्छ भन्ने धारण विकास गर्न सक्दा मात्र पार्टीले चुनाव जित्ने उहाँको धारणा छ। अब वडालाई नै पार्टी कामको केन्द्रबिन्दु बनाउनु पर्ने पोखरेलले बताउनुभयो।
देश बनेन भन्ने चिन्ता सबैलाई भएको बताउँदै उहाँले नेपालमा काम नै पाइएन भनेर धेरै युवा विदेश गएका भए पनि विदेश जानेले नेपाल पठाएको पैसा भन्दा भारतीय कामदारले नेपालमा काम गरेर लैजाने पैसा बढी भएको बताउनुभयो। नेपाली युवाले त्यो कामलाई काम नै नदेखेको महासचिव पोखरेलको धारणा छ।
समाजलाई बदल्ने र सिकाउने काम एमालेका नेता कार्यकर्ताले गर्नुपर्ने महासचिव पोखरेलले बताउनुभयो। बैठकदेखि बैठक मात्र गर्ने काम एमालेका नेताहरूको नभएको बताउँदै पोखरेलले जनताको जीवन परिवर्तनमा नयाँ कुरा सिकाउने काम एमालेका नेता कार्यकर्ताको भएको स्पष्ट पार्नुभयो।
केपी ओलीको नेतृत्वको सरकारलाई ढाल्नुको परिणाम मुलुकको विकास रोकिएको महासचिव पोखरेलले बताउनुभयो। त्यसैले देश बनाउनको लागि एमाले नेतृत्वको एकल बहुमतको सरकार आवश्यक हुने महासचिव पोखरेलले प्रष्ट पार्नुभयो। राजनीतिक स्थायित्व नहुँदासम्म देशको विकास नहुने महासचिव पोखरेलको धारणा छ।
अहिले माओवादी र माधव नेपालको अभिव्यक्ति सत्तामा नहुँदाको पीडा मात्र भएको उहाँले बताउनुभयो। त्यसैले एमाले माथि लगाइएका सबै आरोप सत्ता छाड्नु पर्दाको गिडगिडाहट मात्रै भएको महासचिव पोखरेलले दाबी गर्नुभयो।
प्रतिक्रिया