अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपद्को जोखिम न्यूनीकरणका लागि प्रदेश सरकारले दिगो र परिणाममुखी काम गर्छ: मुख्यमन्त्री कार्की

विपद्को जोखिम न्यूनीकरणका लागि प्रदेश सरकारले दिगो र परिणाममुखी काम गर्छ: मुख्यमन्त्री कार्की


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद्को जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामलाई संस्थागत रूपमा दिगो र परिणाममुखी बनाउन प्रदेश सरकारले योजनाबद्ध काम गर्ने बताउनु भएको छ।

आज २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले विपद् जोखिम न्यूनीकरणका लागि दिगो विकास लक्ष्यहरू तथा अन्तर्राष्ट्रिय सन्धि र सम्झौताहरूले तय गरेका प्राथमिकता र लक्ष्यलाई आधारमा अघि बढ्ने बताउनु भयो।

भूकम्प र अन्य प्राकृतिक विपत्तिबाट सुरक्षित रहन समुदायलाई सचेत बनाउँदै अब फेरि विगतको जस्तो जनधनको क्षति हुन नदिन पूर्व तयारीका लागि सबैले सार्थक प्रयत्न र संकल्प गर्नुपर्ने जरुरी रहेको भन्दै मुख्यमन्त्री कार्कीले भन्नभयो, ‘आजको दिन भविष्यमा आउन सक्ने भूकम्प लगायतका सबै प्रकारका विपद्का कारणले हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न सबैलाई एकढिक्का भएर लागि पर्न आह्वान गर्दछु ।’

भूकम्प सुरक्षा दिवसको अवसरमा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत सबै व्यक्ति, संघसंस्था, निकाय, समुदायलगायत सबैमा आपसी सहयोग, भाइचारा र सहकार्यका साथ विपद्को सामना र क्षति न्यूनीकरणका लागि जनचेतना जगाउन प्रभावकारी रुपमा काम गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।

आज २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस,’भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नाराका साथ मनाइदैछ ।