अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरका एमाले नेता कार्की ६ महिनाका लागि निलम्बनमा

उदयपुरका एमाले नेता कार्की ६ महिनाका लागि निलम्बनमा


काठमाडौं-नेकपा एमाले उदयपुरका नेता एवं कोशी प्रदेश सभाका पूर्वसांसद विमल कार्कीलाई एमालेले ६ महिनाका लागि निलम्बन गरेको छ।

पार्टी नेतृत्वको आलोचना गरेको भन्दै एमाले काेशी प्रदेश कमिटीको बैठकले नेता कार्कीलाई ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेकाे हो।

२०८१ पुस २७ र २८ मा विराटनगरमा बसेको कोसी प्रदेश कमिटीको बैठकले कार्कीलाई ६ महिनाका लागि पार्टीका जिम्मेवारीबाट मुक्त गरेको एमाले कोसीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिनुभयो। नेता कार्कीसहित अरू दुई जनालाई अभिव्यक्तिकै विषयलाई लिएर स्पष्टीकरण सोधिएको अध्यक्ष खतिवडाले बताउनुभयो।

पूर्वसांसद कार्कीले पार्टी नेतृत्वको कार्यशैलीविरुद्ध सामाजिक सञ्जालमा लेख्दै आउनुभएको थियो।

एमाले काेशी प्रदेश कमिटीले नेता कार्कीलाई २०८१ मङ्सिर ६ गते ‘तपाईंको नामको फेसबुक आइडीबाट पार्टी नेतृत्वविरूद्ध लगातार अभिव्यक्ति आइरहेको छ। त्यो फेसबुक आइडी तपाईंको हो कि होइन, हो भने तपाईंलाई किन कारबाही नगर्ने’ भन्दै स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण चित्त बुझ्दो नभएपछि ६ महिनाका लागि उहाँलाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय भएको प्रदेश अध्यक्ष खतिवडाले बताउनुभयो।

एमालेका सक्रिय नेता कार्कीले २०७४ को प्रदेशसभा निर्वाचनमा उदयपुरको क्षेत्र नम्बर १ (१) बाट निर्वाचित हुनुभएको थियो। प्रदेशसभाको पहिलो कार्यकालमा सक्रिय सांसदका रूपमा परिचित कार्की कार्यकालको अन्त्यतिर संसदीय दलको सचेतकसमेत बनेका थिए ।

एमाले उदयपुर जिल्लाको उपाध्यक्ष रहेका कार्की २०८० असोजमा भएको प्रदेश कमिटी निर्वाचनमा सदस्य पदमा पराजित भएपछि नेतृत्वप्रति असन्तुष्टी जनाउदै आउनु भएको थियो । पछिल्लो समय व्यापारी मीनबहादुर गुरुङले एमालेलाई जग्गा दान र भवन निर्माणको प्रस्तावमा भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनाले जनाएको असहमतिको समर्थन गर्दै कार्कीले सामाजिक सञ्जालमा लेख्नुभएको थियो।