काठमाडौं-नेपाली कांग्रेसले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई अदालत परिसरभित्रै हातपात र दुर्व्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एक विज्ञप्ति जारी गर्दै कांग्रेसले सहकारीको अपचलन तथा ठगी प्रकरण सम्बन्धमा काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहस सकिएपछि अधिवक्ता त्रिपाठीलाई हातपात र दुर्व्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
विधिको शासनमा अदालतमा पक्ष र विपक्षका बीचमा बहस गर्न पाउने जो सुकैलाई पनि अधिकार रहेको हुने भन्दै यो घटनालाई अत्यन्त दुःखदायी घटनाको रुपमा लिएको कांग्रेसको भनाई छ।
कांग्रेसले विधिको शासन, कानूनी राज्य र न्यायपालिकाप्रति विश्वास राख्ने राजनीतिक दलका लागि यो अराजकता र अवांछित गतिविधि कदापी स्वीकार्य हुन नसक्ने बताउँदै घटनाको घोर निन्दा र भत्सर्ना गरेको छ । साथै, घटनामा संलग्न जो सुकैलाई पनि कानूनी कारबाहीको दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।
प्रतिक्रिया