काठमाडौं-नेकपा एमालेले सहकारी ठगी प्रकरणमा विपक्षमा बहस गरेकै आधारमा अदालत परिसरमै वरिष्ठ अधिवक्तामाथि भएको आक्रमणको निन्दा र भर्सना गर्दै कडा कार्वाहीको माग गरेको छ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बिहीवार विज्ञप्ति जारी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै कार्वाहीको माग गर्नुभएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता-कार्यकर्ताले सभापति रवि लामिछानेको विपक्षमा बहस गरेको भन्दै बुधवार जिल्ला अदालत काठमाडौंको परिसरमा नै आक्रमण गरेका थिए। एमालेले सो घटनाको बिरोध गर्दै निष्पक्ष छानविनको माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘यही मिति २०८१ साल माघ २ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथि भएको भौतिक आक्रमण, गाली–गलौज तथा सांघातिक हमला जस्ता निन्दनीय कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।’
विज्ञप्तिको पूर्णपाठ
निष्पक्ष छानविनको माग
यही मिति २०८१ साल माघ २ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथि भएको भौतिक आक्रमण, गाली–गलौज तथा सांघातिक हमला जस्ता निन्दनीय कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।
काठमाडौं जिल्ला अदालत परिसरवाट बाहिरिने क्रममा जाहेरवालाको तर्फबाट वहश गरेकै आधारमा वहश पैरवीका वुँदाहरुलाई लिएर अराजक समुहवाट वरिष्ठ कानुनविदमाथि भएको यसप्रकारको निन्दनीय कार्यको हाम्रो पार्टी खेद व्यक्त गर्दछ। नेकपा (एमाले) सदैव विधिको शासन र कानुनी राज, स्वतन्त्र न्यायपालिका र सम्वद्व कानून व्यवसायीहरुको पेशागत हकहितका पक्षमा दृढ छ,अराजकता र उदण्डताको अन्त्य गर्न र यस्ता अमानवीय घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीउपर कडा भन्दा कडा कार्यवाहीको माग गर्दछ।
राजेन्द्र गौतम
प्रमुख, प्रचार तथा प्रकाशन विभाग
नेकपा एमाले
प्रतिक्रिया