सिन्धुली-काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको माइक्रो बस सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।
बीपी राजमार्गमा पर्ने सुनकोशी गाउँपालिका वडा नम्बर–७ कानढुंग्रीमा बिहीबार साँझ बा.३ ख ८४४५ नम्बरको माइक्रो सडकबाट तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका-१० घर भएका ५० वर्षीय निर्मल गुप्ताको उपचारको क्रममा गएराति काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। घाइते ११ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
गाडी गुडिरहेको बेला टायर पञ्चर हुँदा माइक्रो बस डिभाइडरमा ठोकिएर सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि माइक्रो चालक ३२ वर्षीय सञ्जय कुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया