अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली प्राविधिज्ञहरु विश्वव्यापी प्रतिष्पर्धी क्षमताका छन्: मन्त्री दाहाल

नेपाली प्राविधिज्ञहरु विश्वव्यापी प्रतिष्पर्धी क्षमताका छन्: मन्त्री दाहाल


काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाली प्राविधिज्ञहरु विश्वव्यापी प्रतिष्पर्धी क्षमताका रहेको बताउनु भएको छ । विश्वका नविन प्रविधि र अनुसन्धानमा समेत नेपाली प्राविधिक तथा प्राविधिज्ञहरुले उल्लेखनीय नतिजा ल्याउने गरेको भन्दै निराश हुने अवस्था नरहेको उहाँको भनाई छ।

पुलचोक ईन्जिनियरीङ् कलेजमा सिभिल ईन्जिनियर विद्यार्थी समाज–सेसले शक्रबार देखि शुरु गरेको सिभिल ईन्जिनियरीङ् प्रदर्शनी ‘आधार’ को उद्घाटनका क्रममा उहाँले नेपाली प्राविधिकहरुको ज्ञान र शिपलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रकृया समेत शुरु भई सकेको उल्लेख गर्नुभयो ।


नेपाल अहिले निर्माणको क्रममा रहेको उल्लेख गर्दै उहाँले नेपालको पूर्वाधार विकास र निर्माणमा नेपाली ईन्जिनियर र प्राविधिकहरुको भुमिका सह्रानिय रहेको उल्लेख गर्नुभयो । नेपालमा अवसर छैन भनेर निराश मात्र हुने अवस्था नरहेको भन्दै मन्त्री दाहालले नेपालमा सिकेको ज्ञान र शिपबाट स्वदेशकै समृद्धीका लागि योगदान गर्न सकिने आधार बनि रहेको बताउनुभयो।

नेपाली प्राविधिक तथा वैज्ञानिकहरुले भूउपग्रह प्रक्षेपण देखि नवप्रवर्तनका विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगती गरि रहेको भन्दै युवाहरुको ज्ञान, शिप र क्षमताको प्रोत्साहनका लागि सरकारले प्राथमिकता दिने पनि उल्लेख गर्नुभयो । कार्यक्रम उद्घाटन पछि मन्त्री दाहालले विद्यार्थीहरुद्वारा सिर्जना गरिएका विभिन्न प्रदर्शनीका स्टलहरुको अवलोकन समेत गर्नु भएको थियो ।
सिभिल ईन्जिनियर विद्यार्थी समाज–सेसका अध्यक्ष दिवश पौडेलका अनुसार विज्ञान प्रदर्शनी तथा प्रतियोगीताको १५ औं संस्करण शुक्रबार देखि शुरु भएको हो । यो तीन दिन चल्ने छ । प्रदर्शनी एवम् प्रतियोगीतामा विभिन्न ६० ओटा स्टलमा सिभिल ईन्जिनियरीङ् क्षेत्रमा विभिन्न नमूनाहरु समावेश रहेको कार्यक्रमका संयोजक राहुल दाशले जनाउनु भएको छ ।