अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाललाई एमालेको ढोका बन्द छ, अरु सबैलाई एमालेमा स्वागत छ: शंकर पोखरेल

माधव नेपाललाई एमालेको ढोका बन्द छ, अरु सबैलाई एमालेमा स्वागत छ: शंकर पोखरेल


काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपाल बाहेक एकीकृत समाजवादीका सबै नेतालाई एमालेमा स्वागत गर्ने बताउनु भएको छ।

प्रेस चौतारी नेपालबाट विभाजन भएर बनेको प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीसहितका पत्रकारलाई शुक्रबार प्रेस चौतारी नेपालमा स्वागत गर्दै महासचिव पोखरेलले माधव नेपालले एमाले फुटाएर ठूलो गल्ती गरेको भन्दै उहाँका लागि एमालेको ढोका खुला नभएको बतानुभयो।

माधव नेपालले एमालेबाट अलगिएर जीवनको सबैभन्दा ठुलो भुल गरेको समेत महासचिव पोखरेलले बताउनु भयो। नेतृत्वले जनताको भावनालाई बुझ्न नसक्दा बेला बखतमा दुर्घटना हुने गरेको उहाँको भनाइ छ। त्यही दुर्घटनामा माधव नेपाल पनि पर्नुभएको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो।

नेताहरूले गराएको दुर्घटनालाई सच्याउने काम कार्यकर्ताले गर्ने महासचिव पोखरेलले बताउनुभयो। नेकपा एमाले फुटाएर माधव नेपाल, झालनाथ खनाल लगायतले गराएको दुर्घटना कार्यकर्ताले एमालेलाई साथ दिएर सच्याएका उहाँले धारणा राख्नु भयो ।

सरकारले दल विभाजनको अध्यादेश ल्याउला र आफ्नो पार्टी सकिएला भन्ने चिन्ता माधव नेपाललाई भएको महासचिव पोखरेलले बताउनुभयो। अध्यादेशले पार्टी सिद्धिने र बन्ने नभएको बताउँदै निर्वाचनको बेलामा कानुन नआए पनि नचल्ने पार्टी नेता कार्यकर्ताले छाड्ने महासचिव पोखरेलले स्पष्ट पार्नुभयो ।

‘त्यहाँ भविष्य छैन भन्ने ठानेपछि मानिसले अन्यत्र भविष्य खोज्ने गर्दछ’, महासचिव पोखरेलले भन्नुभयो। इतिहासको भारी बोकेर यात्रा अघि बढ्न नसक्ने उहाँले बताउनुभयो। राजनीतिक दलको लक्ष भविष्य प्रति केन्द्रित हुनुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयाे।

‘भविष्य के हो भने समाजवादी जनताबाट बिदा हुँदै छ, नेकपा एमाले जनताको लागि स्वीकार्य हुँदै छ’, महासचिव पोखरेलले भन्नुभयो।

एमाले भित्र लामो जीवन बिताएका र योगदान गरेका नेता कार्यकर्ताले आफ्नो भविष्य सुरक्षित गर्ने हो भने समाजवादीमा अलमलिन नहुने महासचिव पोखरेलले बताउनुभयो।

महासचिव पोखरेलले भन्नभयो, ‘खुल्ला हृदयले सम्मान स्वागत गर्ने हो भने पहिला माधव नेपाल आइपुग्नु हुन्छ, तर हामीले माधव नेपालको लागि ढोका खोलेका छैनौँ, उहाँले जुन गल्ती गर्नुभएको छ, त्यो गल्ती गरेबापत नेकपा एमाले उहाँलाई सम्मान गर्ने पक्षमा छैन।’

देशका पक्षमा उभिएको कारण केपी शर्मा ओली माथि आक्रमण भएको बताउँदै महासचिव पोखरेलले त्यसैले आफू केपी ओलीको पक्षमा उभिएको उहाँले प्रष्ट पार्नुभयो। देशको पक्षमा उभिने नेताको पक्षमा नउभिने हो भने देश बरबाद हुने उहाँले बताउनुभयो।

बागबजारको होटेल हार्दिकमा प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा सुवेदीसँगै सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईँ, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा फर्कनु भएको छ। कार्यक्रम प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको थियो।