विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सहमतिका लागि गएको फाइल, दुई दिनदेखि पाँच दिनभित्र टुंग्याउन निर्देशन दिनुभएको छ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको अर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समिक्षा कार्यक्रममा निर्देशन दिँदै सहमतिका लागि गएको फाइलहरु अड्किँदा काम ढिलो भएको बताउनुभयो। समिक्षा कार्यक्रममा मुख्यमन्त्री कार्कीले जेठ १५ गते भित्र अन्तरक्रिया गोष्ठी जस्ता कार्यक्रमहरु सक्नका लागि पनि निर्देशन दिनुभयो। ‘जेठको अन्तिम लागेपछि कार्यक्रममा जानको लागि हैरान हुन्छ, दिनमा तीन चारवटा कार्यक्रम हुन्छन्, त्यसले नतिजा पनि दिएको छैन र जनताले पनि पचाएका छैनन,’ मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘यस्तो काम रोक्ने गरी अघि बढ्नपर्छ।’
कम्तिमा हप्तामा तीन देखि चार दिन मन्त्री र सचिवलाई सँगै बसेर मन्त्रालयको काम गर्न पनि उहाँले आग्रह गर्नुभयो। पर्फमेन्स देखाउँ र प्रभावकारी रुपमा काम गरौँ। मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘हाम्रो नीति, कार्यक्रम तथा बजेट खर्चको अवस्था अहिलेसम्म सन्तोषजनक छैन, पफर्मेन्स गर्न लागौँ, बेरुजू फच्र्यौृट र शासकीय सुधारलाई पहिलो स्थानमा राखेर काम गरौँ।’
सरकारले गरेका सन्धी, सम्झौता, दीगो विकासका लक्ष्य लगायतलाई ध्यान दिएर मानवीय विकासमा काम गर्न पर्ने अवस्था रहेकोसमेत उहाँले औँल्याउनुभयो।
आगामी माघ ७ गतेदेखि सुरु हुने प्रदेश सभाको अधिवेशनमा नयाँ विधेयक र संसोधन गर्नुपर्ने ऐनपनि छिटो पेश गर्ने गरी तयारी गर्न मुख्यमन्त्री कार्कीले मन्त्रीहरुलाई निर्देशन दिनुभयो। प्रदेश सभामा मन्त्रालयका विषयमा उठेका विषयहरु सम्बन्धित मन्त्रीले ढिलोमा एक हप्ता भित्र जवाफ दिने गरी तयारी गर्नसमेत उहाँले आग्रह गर्नुभयो। प्रदेश सभालाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सबै लाग्नु पर्ने बताउँदै उहाँले भन्नुभयो, ‘२०७७ सालपछिको सबै भन्दा प्रभावकारी र राम्रो यही अधिवेशन हुने छ। त्यसतर्फ लागौँ ।’ कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले ऐन र नियमावलीमार्फत काम गर्नु पर्ने बताउँदै कार्यविधि र निर्देशिकाबाट काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी अघि बढ्ने बताउनुभयो।
प्रमुख सचिव केदारनाथ शर्माले मन्त्रालयहरुले समयसीमा अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो। ‘एकै पटक नियमावली र कार्यविधि ल्याएर काम गर्ने कुरा ठिक भएन, पुँजीगत खर्च कसरी बढाउन सकिन्छ त्यसमा लाग्नु पर्छ’, उहाँले भन्नुभयो, ‘यसमा मन्त्रालयहरुले ध्यान दिन जरुरी छ।’
समिक्षा कार्यक्रममा कोशी प्रदेश सरकारका सबै मन्त्री तथा राज्यमन्त्री, मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया