अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षकलाई शिक्षामन्त्री भट्टराईले भन्नुभयो: अहिले आन्दोलन गर्ने समय होइन, कक्षामा गएर पढाउने हो

शिक्षकलाई शिक्षामन्त्री भट्टराईले भन्नुभयो: अहिले आन्दोलन गर्ने समय होइन, कक्षामा गएर पढाउने हो


काठमाडौँ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षकहरूलाई आन्दोलनमा भन्दा कक्षाकोठामा गएर पढाउन आग्रह गर्नुभएको छ।

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालले आयोजना गरेको विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन र गुणस्तरमा प्रभाव विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले शिक्षकहरूलाई आग्रह गर्नुभएको हो। उहाँले अहिले आन्दोलन गर्नुपर्ने अवस्था नरहेको बताउँदै कक्षा कोठामा गएर पढाइमा ध्यान दिन आग्रह गर्नुभयो।

नेपाल शिक्षक महासङ्घले २०८१ माघ १६ र १७ गतेको तेस्रो पूर्ण राष्ट्रिय समितिको बैठकपछि काठमाडौँ केन्द्रित आन्दोलनको तयारी गरेको छ। उक्त बैठकपछि विद्यालय शिक्षा ऐन चाँडो ल्याउनुपर्ने, शिक्षकका पेशागत मागहरू सम्बोधन गरिनुपर्ने जस्ता माग राखेर आन्दोलन गर्ने जनाएको छ।

आन्दोलनको तयारीमा रहेका शिक्षकहरूलाई मन्त्री भट्टराईले आन्दोलन शब्दबाट विद्यार्थीहरू समेत त्रसित हुन थालेको बताउनुभयो।

मन्त्री फेर्नका लागि आन्दोलन गर्न खोजेको हो भने आफू तत्काल राजीनामा दिने शिक्षामन्त्री भट्टराईले चेतावनी समेत दिनुभयो। शिक्षामन्त्री भट्टराईले भन्नुभयो, ‘आन्दोलन राज्य व्यवस्था परिवर्तन गर्नका लागि गरियो। मन्त्री फेर्ने हो भने आन्दोलन गर्नुहोस् म एकदमै आभार व्यक्त गर्छु। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री फेरौँ भन्नु हुन्छ भने हुन्छ मैले छोडी नै हाल्छु समस्या छैन। तर हामी साँच्चिकै समाज बनाउनका लागि हो भने अगाडी बढेको मिलेन।’

सरकार एसईईको नतिजा ७० प्रतिशत पुर्‍याउने लक्ष्यसहित अघि बढिरहेको अवस्थामा शिक्षकहरूले आन्दोलन गर्छु भन्नको अर्थ नहुने शिक्षामन्त्री भट्टराईले बताउनु भयो। उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा शिक्षकका सङ्घ सङ्गठनले आन्दोलन गर्छु भनिरहँदा शिक्षा कता जान्छ भन्ने प्रश्न शिक्षकहरूमाथि नै अवश्य उठ्छ।’

‘एसईईको परीक्षा आउन पनि धेरै समय छैन। प्रधानमन्त्री केपी शर्मा ओली बारम्बार भन्नुहुन्छ- सरकारको लक्ष्य ७० प्रतिशत पास गराउनुपर्छ। अनि सङ्घ-सङ्गठन आन्दोलन गर्छौ भनेपछि शिक्षामन्त्री कता पट्टि जाने ?’ शिक्षामन्त्री भट्टराईले प्रश्न गर्दै भन्नुभयो, ‘सङ्घ सङ्गठनसँगै आन्दोलनमा जाने की प्रधानमन्त्रीले भन्नुभएकोतिर लक्ष्य प्राप्तिका लागि काम गर्ने ? त्यसैले मैले के अनुरोध गर्न चाहन्छु भने नेतृत्व त्यो हो जसले जोखिमलाई पनि सहज ढङ्गले अगाडी बढ्नका लागि आफूलाई तयार गर्छ।’