अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरेन्द्रनगर नगरपालिकाले चौतर्फी सुधारका प्रयास थालेको छ: मेयर ढकाल

वीरेन्द्रनगर नगरपालिकाले चौतर्फी सुधारका प्रयास थालेको छ: मेयर ढकाल


सुर्खेत-वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई समावेशी सहर बनाइने बताउनु भएको छ।

वीरेन्द्रनगर नगरपालिकाले ‘सिटी फर वुमेन’को सहयोगमा सहरलाई महिला, बालबालिका र ज्येष्ठ नागरिकमैत्री भौतिक संरचना निर्माण गरी समावेशी सहर बनाइने बिहीबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर ढकालले बताउनुभयो।

मेयर ढकालले सहरहरू सबैका लागि अवरोधमुक्त, अवसरयुक्त, हरित र विभेदरहित हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘वीरेन्द्रनगर नगरपालिकाले चौतर्फी सुधारका प्रयास थालेको छ। अब बन्ने प्रत्येक भौतिक संरचनालाई सबैको पहुँचयुक्त बनाउने छौं। हाम्रा खुल्ला र सार्वजनिक क्षेत्रहरूलाई महिला मैत्री बनाइरहेका छौं।’

मेयर ढकालले सहरहरू अवरोध र असमानताका केन्द्र बन्न नहुने बताउनुभयो। ‘सहर अवसरका ढोका हुनुपर्छ। उमेर, जात, वर्ग, लिङ्ग र शारीरिक अवस्थाको विविधता आत्मसात् गर्दै सबै अटाउने समावेशी बन्नु पर्छ’, मेयर ढकालले भन्नुभयो, ‘त्यसका लागि हामी जग हाल्ने काम गरिरहेका छौं। आवश्यक नीति निर्माण गर्ने देखि त्यो सँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं।’

वीरेन्द्रनगरले भौतिक पूर्वाधार विकास मात्र नभइ मानव विकासलाई पनि उत्तिकै प्राथमिकता दिइएको मेयर ढकालले बताउनुभयो। ‘हामीले निर्माण गर्ने पूर्वाधारहरूलाई महिला, अपाङ्गता भएका, बालबालिका र ज्येष्ठ नागरिकहरूका लागि सहज पहुँच योग्य बनाएका छौं,’ मेयर ढकालले भन्नुभयो।

सुर्खेत उपत्यका नगर विकास समितिको अध्यक्ष समेत रहेकी मेयर ढकालले वीरेन्द्रनगरको सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने नीति लिएको बताउनुभयो । वीरेन्द्रनगरको धेरै सार्वजनिक तथा सरकारी जग्गा हडपेर बनाइएका संरचनाहरू हटाएर अहिले ती क्षेत्रहरूमा खुल्ला पार्क निर्माण थालिएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, ‘ती पार्कहहरु महिला, बालबालिका, अपाङ्गता भएका र ज्येष्ठ नागरिकमैत्री रूपमा निर्माण गर्न थालिएको छ।’