अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

आजको खुशीको दिन हो

आजको खुशीको दिन हो


काठमाडौं-सिद्धबाबा सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रमका सभापति महोदय, उपप्रधानमन्त्रीज्यूहरु, मूख्यमन्त्रीज्यू, नेपालका लागि चिनियाँ राजदूत, नेपालका लागि स्वीट्जरल्याण्डका कार्यबाहक राजदूत र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरु

आज खुशीको दिन हो। हामीले सिद्धबाबा सुरुङको ‘ब्रेक थ्रु’ गर्न सफल भएका छौं। केही वर्ष अगाडि म बुटबल भ्रमणमा आउँदा त्यहाँ प्रिया भण्डारी र केही कलाकारहरुले गीत गाउँनुभएको थियो– कहिले बन्छ नेताज्यू सिद्धबाबा खण्ड ? भनेर।

साह्रै पीडाको, चासोको र जिज्ञासाको विषय थियो यो बाटो। यो बाटो नबन्दा हरेकौं वर्ष बस दुर्घटना हुने, पहिरोमा पर्ने, पहिरोले गाडी बगाउने, गाडी नै फेला नपर्ने, फेला परे पनि अस्थिपञ्जर गाडीको वा मान्छेको फेला पर्ने दुुःखदायी अवस्था थियो। त्यसबाट उत्तरी भेग र दक्षिणी भेगका लागि यात्रा गर्ने जनता वास्तवमा अत्यन्तै पीडित थिए र त्यो पीडाबाट जोगिन चाहन्थे र त्यो गीत त्यसैकारण उब्जिएको थियो– कहिले बन्छ नेताज्यू सिद्धबाबा खण्ड भन्ने गीत। त्यो जनताको आवाज गीतको रुपमा घन्किएको थियो। जनताले आफ्नै भाषामा पनि त्यो गीत गाउन्थे अथवा आफ्नै भाषामा त्यो भन्थे।

आज ती प्रश्नले जवाफ पाएको छ, अब बन्यो सिद्धबाबा खण्ड। अब सुरुङको रुपमा बन्यो। अब पहिरो नजाने र नभत्किने गरी बन्यो। बीचमा कुनै गम्भीर क्षति र नोक्सानी नभइकन बन्यो। सफलतापूर्वक बन्यो।

म त्यहाँ निरीक्षणमा जाँदा कि यस्तो ठाउँमा पनि सुरुङ हुन्छ र भनेर मान्छेहरु भन्दै थिए। तर हुन्छ, हुँदो रहेछ। सिद्धबाबा खण्डको बाटोलाई सुरुङ मार्गबाट सहज तरिकाले निकास दिने काम भएको छ। यस अवसरमा म तपाईंहरुलाई बधाई भन्न चाहन्छु र सबैलाई शुभकामना भन्न चाहन्छु। बधाई यसकारण कि तपाईंहरु त्यस पीडाबाट तपाईंहरु मुक्त हुनुभएको छ, शुभकामना यसकारण कि यसको लाभ लिनुस् र यस लाभबाट तपाईंहरुको सहज आवागमन, सामाजिक सम्बन्ध, आर्थिक सम्बन्ध, बन्दव्यापारदेखि लिएर अरु आर्थिक क्रियाकलापदेखि लिएर चाडवार्डदेखि लिएर सबै कुराहरुको आदान प्रदान गर्न सक्नुु हुन्छ। आफ्नो ठाउँको उत्पादन अर्को ठाउँमा पुर्‍याउने, अर्को ठाउँको उत्पादन आफ्नो ठाउँमा ल्याउने कामहरु गर्न सक्नुु हुन्छ। अब तपाईंहरु एउटा ठूलो सुविधाको क्षणमा प्रवेश गर्दै हुनुहुन्छ। यद्यपि सबै बाटो बनिसकेको छैन तर अब टनेल नै ब्रेक थु्र भएसकेपछि, टनेल मार्ग नै तयार भएपछि बाटो कुनै कुराको कमि रहने छैन। अब पाल्पा, पोखरा, गुल्मी, अर्घाखाँचीको उत्तरी भेग हुँदै प्युठान जानका लागि सबै कुराको अनुकूलता त्यहाँबाट भएको छ। त्यसै गरेर कालिगण्डकी करिडोरसँग यो बाटो पर गएर जोडिन्छ। जसबाट सडकको एउटा सञ्जालको रुपमा यसले काम गरेको छ। यसका निम्ति यसमा सहयोगकर्ताहरुलाई, दाताहरुलाई पनि धेरैधेरै धन्यवाद भन्न चाहन्छु। छोटो समयमै यस कार्यलाई सम्पन्न गर्नुभएकोमा ठेकदार कम्पनीलाई पनि धन्यवाद भन्न चाहन्छु । यसको मुख्य चुनौतीको पाटो सुरुङ मार्ग थियो, त्यो छिचोलिएको छ।

मैले धेरै अगाडि, जतिबेला नागढुुंगा–नौबिसे सुरुङ खण्डको शिलान्यास गर्दै थिएँ, त्यसबेला मैले भनेको अब नेपालमा टनेल युुगको प्रारम्भ भयो अथवा हामी नेपालीहरु अब टनेल युुगमा प्रवेश गरेका छौं। अब विस्तारै विस्तारै दुुर्गम कच्ची पहाडहरु चढ्दै, पहिरो जाने पहाडहरु चढ्दै गाडीहरु घुुमाएर मनमा दुर्घटनाको क्रास बोकेर यात्रा गरिरहनुु पर्ने छैन। धेरै हामी त्यस्ता बाटाहरुलाई छोटा बाटाको रुपमा सुरुङ मार्गबाट वल्लो वेसीबाट पल्लो वेसी र अझ पल्लो वेसी निकाल्दै सहज ढंगले छोटो बाटोबाट टाढाको दुर्गम सहज नहुने गन्तव्यहरु छोटो मार्गबाट पुग्न सक्छौं र त्यो हामी प्राप्त गर्न सक्छौं। पहाडहरुका लागि त्यसबाट सम्पर्क बाटाहरु निर्माण गरेर हामी ती कामहरु गर्न सक्छौं। हामी त्यहाँ लिंक रोडहरु बनाउँछौं, रिभर करिडोरहरु बनाउँछौं। नेपालका सबै जिल्लामा अहिले गाडी पुुगिसकेको छ। त्यस्तो अवस्थामा नेपाल दुर्गम भन्ने हिजो झै रहेन तर यसलाई अझ सुुगम बनाउदै लाने छौं। विभिन्न खालका सञ्जालका बाटाहरु, सुरुङ मार्गहरु, झोलुङ्गे पुलहरु, पुुलहरु, हवाइ यातायात, हवाई मार्गहरु, मैदानहरु लगायतका अनेक केवलकारहरु जस्ता कुराहरुबाट हामी अनेक ठाउँहरुलाई सुुगम र रमाइला ठाउँहरु र विकसित ठाउँहरुका रुपमा परिणत गर्ने छौं। त्यसकारण अब नेपाल विस्तारै दुुर्गमबाट सुुगम रुपमा, पिछडिएको देशबाट अगाडि बढेको देशको रुपमा, अल्पविकसित देशबाट विकासिल देशको रुपमा र शिक्षा, स्वास्थ्यमा वञ्चित वा पछाडि परेको स्थितिबाट सामान्य अवस्थातर्फ छिटै अग्रसर हुुँदैछ भन्ने यी कुराहरुले देखाएका छन्।

म दाजुभाइ दिदीबहिनीहरुलाई आग्रह गर्न चाहन्छुु, यो खुशी तपाईं हामीको खुशीको हो। यो सिंगै देशको खुुशी हो। यो पाल्पा र रुपन्देहीजस्ता जिल्लाहरुको ठूलो खुशी हो। त्यति मात्रै होइन, पाल्पा, स्याङ्जा, कास्की र अरु जिल्ला यो यस बाटोबाट सजिलैसँग बुुटबल अथवा बुुटबलबाट पूर्व-पश्चिम जानु पर्दछ, त्यो सजिलो हुन्छ। त्यसकारण यो सुरुङ मार्गको विशेष महत्व छ र यो एउटा ऐतिहासिक घटना हो। यो इतिहासमा पहिलो पल्ट घटित भएको र पहिलो पल्ट प्राप्त भएको सफलताको कुरा हो। त्यसकारण म सबैमा खुशी व्यक्त गर्न चाहन्छु। सबैलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु। जसले यसमा काम गर्नुभएको छ, कामदारहरुलाई, मजदुुरहरुलाई, इन्जिनियरहरु सबैलाई पनि धन्यवाद भन्न चाहन्छु। स्थानीय जनता, जसले यस सुरुङ मार्गको निर्माणका लागि सरकारलाई झक्झकाउने काम, हामी सबैलाई झक्झकाउने काम र छिटो गर्नका लागि प्रेरित र प्रोत्साहित गर्नुुभएको छ, म उहाँहरुलाई पनि धन्यवाद भन्न चाहन्छु। यो हामी सबैको सफलता हो। यस्तै सफलता जोड्दै गएर नेपाल एउटा सफलताको देश हुनेछ। यस्तै उपलब्धिहरुलाई जोड्दै गएर उपलब्धिको देश हुनेछ। यस्तै पछौटेपनहरुलाई चिर्दै जाने घटनाहरुबाट, उपलब्धिहरुबाट जोडिंदै गएर पछौंटेपन समाप्त पारिएको देश हुनेछ। हामी आशावादी बन्न सक्नु पर्दछ।

अहिलेको सरकार विकासका लागि बनेको छ। यो सरकार स्थायित्व र स्थिरताका लागि बनेको छ। यो सरकारले विकासका कामलाई तीव्रताका साथ अगाडि बढाउँछ। अहिले अघिल्लो पटक सुुरु भएका कामहरु अगाडि बढेका छन्। अहिले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारले अत्यन्तै ध्यान दिएर देशको शीघ्र विकास कसरी गर्न सकिन्छ, देशमा सुशासन कसरी ल्याउन सकिन्छ भन्ने कुरामा विशेष रुपमा यसले ध्यान दिइरहेको छ। यी कुराहरुमा तल्लीन भएर जनतालाई सेवा सुविधा कसरी पुर्‍याउन सकिन्छ भन्ने कुरामा ध्यान दिएर नै अहिलेको सरकार अगाडि बढेको छ। तसर्थ, म सबैलाई आशावादी हुन, हामी बनाउँछौं हाम्रो देश, अरुले बनाउने होइन, हामीले आफैँ बनाउँछौं, हामी अरुको पनि सहयोग लिन सक्छौं, अरुको लगानी आमन्त्रण गर्न सक्छौं, अरुको अनुकूलता, हाम्रो अनुुुकूलता र आवश्यकता, प्राथमिकतामा अरुका लोनहरु पनि आवश्यकता अनुसार स्वीकार गर्न सक्छौं। जसरी होस् हाम्रो देशलाई फाइदा हुने, हाम्रो देशको शीघ्र विकास हुने कुरामा हाम्रो ध्यान जानेछ र गइरहेको पनि छ। यसर्थ हाम्रो देशको विकास सम्भव छ, छिटो हुन्छ। यो देशसँग अहिले पनि युुवा जनशक्ति छ, स्रोत साधन छन्, हाम्रा प्रयासहरु र हाम्रा मित्रहरुका साथ सहयोगले हामी छिटै अगाडि बढ्न सक्ने छौं। म सबै साथीहरुलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु। धन्यवाद तथा शुभकामना।

(प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिद्धबाबा सुरुंग मार्गको उद्घाटनका क्रममा दिनुभएको मन्तव्यको पूर्णपाठ )