अछाम-अछाममा शुक्रबारदेखि बेपत्ता रहेका दुई किशोरी जंगलमा मृत भेटिएका छन्। ढकारी गाउँपालिका–८ का कमल खड्काकी छोरी ईश्वरी खड्का र सोही ठाउँका उदय खड्काकी छोरी सरस्वती खड्का शनिबार बेलुकी मृत फेला परेका हुन्। १४-१४ वर्षका उनीहरु नातामा फुपू–भदैनी रहेका आफन्तले बताएका छन्।
उनीहरु दुवै जना वडा नम्बर १ को जंगल क्षेत्रमा शनिबार बेलुका मृत फेला परेका जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिनुभयो । ईश्वरी र सरस्वती शुक्रबार बिहान खाना खाएर गाईबाख्रा चराउन जंगल गएका थिए ।
शुक्रबार घर नफर्किएपछि आफन्त र गाउँलेले खोजी थालेका थिए । खोजीको क्रममा उनीहरु भुइँमा लडिरहेको अवस्थामा मृत फेला परेको भनेर शनिबार बेलुकी ६ः४० बजे प्रहरीलाई खबर प्राप्त भएको प्रहरी निरीक्षक देउवाले बताउनु भयो । थप अनुसन्धानका लागि डिएसपी ईश्वरी प्रसाद भण्डारी नेतृत्वको टोली घटनास्थल गएको छ । घटना अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरुको मृत्युको कारण खुलेको छैन।
प्रतिक्रिया