काठमाडौँ-अभिनेत्री तथा राप्रपाकी केन्द्रीय सदस्य रेखा थापाले पार्टीका महामन्त्री धवलशम्शेर राणा बिरामी भएको समयमा संगठन विभाग प्रमुखबाट हटाएर अध्यक्ष राजेन्द्र लिङ्देनले गल्ती गरेको बताउनुभएको छ।
पार्टीको जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा केन्द्रीय सदस्य थापाले सो कुरा बताउनु भएको हो। उहाँले विगतमा ‘बच्चा जन्माउन अमेरिका गएको’ भनेर आफूलक्षित अभिव्यक्ति दिएजस्तै अर्को गल्ती गरेको बताउनुभयो।
‘महामन्त्री धवलशम्शेर राणा बिरामी हुँदा संगठन विभाग प्रमुखबाट हटाउने जुन गलत काम भयो। त्यस्तै म बच्चालाई जन्म दिन अमेरिका जाने बेला जुन अभिव्यक्ति (अध्यक्ष राजेन्द्र लिङ्देनबाट) आयो त्यो दुखद थियो’, थापाले भन्नुभयो, ‘ तर मैले माइन्ड गरेको छैन।’
गत वर्ष रेखा थापा बच्चा जन्माउन अमेरिका गएको भन्दै अध्यक्ष लिङ्देनले उहाँको नामै नलिईकन टिप्पणी गर्नुभएको थियो। अध्यक्ष लिङ्देनले भन्नुभएको थियो, ‘…एक जना चर्चित कलाकारले बेबी प्लान भनेर पोस्ट गर्नुभयो, प्लेन उडेको देखाएर अमेरिका भन्नुभयो। नानी जन्माउन अमेरिका। जीवनमा एउटा महिलाले पहिलोचोटि प्राप्त गर्ने सन्तान यो धर्तीमा जन्माउन चाहँदैन। ऊ नेपाली नहोस्, नेपाली नहुनुमा आफ्नो सन्तानको भविष्य देख्छ भने देश र राष्ट्रियताको अवस्था कहाँ छ ?’
अध्यक्ष लिङ्देनको उक्त अभिव्यक्ति सार्वजनिक हुने बित्तिकै रेखा थापाले पनि अमेरिकाबाटै लिङ्देनले पनि छोरी अमेरिका पठाएको भन्दै कटाक्ष गर्नुभएको थियो। थापाले त्यतिबेला लेख्नुभएको थियो, ‘देशको माया हुनेहरुले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो !! अमेरिकामा किन राखेको ?’
त्यतिबेलाको विषय कोट्याउँदै रेखाले अहिले जारी बैठकमा पनि अध्यक्ष लिङ्देनको व्यवहारप्रति प्रश्न उठाएको एक स्रोतले बताए ।
बैठकमा बोल्ने क्रममा थापाले महामन्त्री राणाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको समर्थन गर्दै भन्नुभयो, ‘हिजो पार्टीले उपलब्धि हासिल गरे पनि अहिले समस्या र चुनौती खडा भएको सही कुरा महामन्त्रीको प्रतिवेदनमा छ, त्यसमा टेकेर पार्टीमा सुधार गर्नुपर्दछ।’
राप्रपालाई वैकल्पिक शक्ति बनाउने भनिएपनि जनमत घट्दो क्रममा देखिएको भन्दै यसबारेमा पार्टीभित्र लेखाजोखा हुनुपर्ने धारणा समेत राखेको ती नेताको भनाइ छ । उनले पार्टीमा चाकडी र चाप्लुसी गरेर नेतृत्वलाई बिगार्ने काम कार्यकर्ताले बन्द गर्नुपर्ने समेत बताइन् । ‘नेतृत्वको सही कामलाई सही र गलत कामलाई गलत भन्नु सक्नु पर्दछ’, उनले भनिन् ।
प्रतिक्रिया