काठमाडौँ-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवा विभागलाई प्रविधिमैत्री बनाइने बताउनुभएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज हुलाक सेवा विभागले आयोजना गरेको ‘एक स्थानीय तह एक हुलाक’ कार्यालय स्थापना घोषणा कार्यक्रमको उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले हुलाकको नीति परिवर्तन आवश्यक रहेको बताउनुभयो।
मुलुक रुपान्तरणसँगै नीति र विधि फेरिन नसक्दा विकास ओझेलमा परेको धारणा उहाँले राख्नुभयो। सञ्चारमन्त्री गुरुङले यो वर्षभित्र पुराना सबै नीति र ऐन संशोधन गरेर समायानुकूल बनाउनमा गम्भीरताका साथ लागेको जानकारी दिनुभयो।
हुलाक सेवा निकै पुरानो र महत्त्वपूर्ण भएकाले यसलाई आधुनिकीकरण गरी प्रविधि मैत्री बनाउन जरुरी रहेको उहाँको भनाइ छ। ‘अब हुलाकको नीति परिवर्तन हुन्छ’, मन्त्री गुरुङले भन्नुभयो, ‘हुलाकलाई प्रविधिमैत्री बनाउने विषयमा मन्त्रालय सधैँ संवेदनशील छ।’
सो कार्यक्रममा स्थानीय तहका हुलाक कार्यालयका कर्मचारी सहभागी थिए। मन्त्री गुरुङले हुलाक जनसेवामुखी बनाउन कर्मचारीहरुलाई आग्रहसमेत गर्नुभयो । “हुलाक सेवाको प्रभावकारिता केन्द्रमा रहेको गोश्वारा हुलाक कार्यालयबाट सुरु गर्नुहोस्, अरु स्थानीय तहका हुलाक कर्मचारीले आआफ्नो क्षेत्रमा सेवा प्रभावकारी बनाउनुहोस्’, उहाँले भन्नुभयो।
सो कार्यक्रममा हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले गोश्वारा हुलाक कार्यालयको अवस्था र स्थानीय तहका हुलाक कार्यालयको सुधारका चुनौती तथा कार्य योजनामन्त्रीसमक्ष जानकारी गराउनुभएको थियो।
प्रतिक्रिया