काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार २०८४ को चुनावपछि मात्रै परिवर्तन हुने बताउनु भएको छ।
एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अस्थिरता मच्चाउन खोज्नेहरुले सरकार ढल्छ भनेर प्रचार गरेको बताउनु भयो।
प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै वर्तमान सरकार अहिले होइन, २०८४ सालकाे चुनावपछि मात्रै परिवर्तन हुने जवाफ दिनुभएको छ।
प्रधानमन्त्री ओलीले सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्याउने तत्त्वहरूले चलाएको हल्लाको पछि नलाग्न आग्रह गर्दै नेकपा एमाले र नेपाली कांग्रेससहितको यो सरकार २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर पूर्वसहमतिबमोजिम अघि बढ्ने बताउनु भयो।
अध्यक्ष प्रचण्डले पछिल्लो समय हरेकजसो भाषणमा सरकार ढल्न लागेको अफवाह र भ्रम फैलाउने काम गरिरहनु भएको छ। त्यसतर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले, ‘सरकार ढल्छ भनेर मिति तोकेका तोकै छन्, यो सरकार ढल्छ २०८४ को निर्वाचनपछि ढल्छ। २०८४ को निर्वाचनमा के परिणाम आएपछि कसरी जान्छ भन्ने हुन्छ। सरकार मंसिरमा ढल्छ, तर मान्छेहरुले अस्ति गएको मंसिर बुझेछन्। २०८४ को चुनावपछि सरकार परिवर्तन हुन्छ।’
प्रतिक्रिया