अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता

सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता


काठमाडौं-सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता भएको छ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार उक्त विधेयक राष्ट्रियसभामा दर्ता गराउनु भएको हो।

फेसबुक, टीकटक, युट्यूव, एक्सलगायतका सामाजिक सञ्जालको बढ्दो दुरुपयोगलाई नियमन साथै नियन्त्रण गर्न सरकारले विधेयक ल्याएको बताइएको छ।

नयाँ ऐनको आवश्यकताबारे विधेयकमा ‘सामाजिक सञ्जालको सही र व्यवस्थित प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्न सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाई सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्ने तथा नियमन गर्ने सम्बन्धमा आवश्यक कानूनी व्यवस्था गर्न उल्लेख छ।

कानुनविपरीतका गतिविधि गर्नेलाई विधेयकमा सजायको व्यवस्था पनि गरिएको छ।

नयाँ विधेयकअनुसार अब सामाजिक सञ्जाल प्रयोकर्ताले सामाजिक सञ्जाल प्रयोग गर्दा विभिन्न सर्त पालना गर्नुपर्नेछ। विधेकको दफा १६ को उपदफा १ मा प्रयोगकर्ताले पालना गर्नुपर्ने कुरा उल्लेख गरिएको छ। 

यो व्यवस्थाअनुसार प्रयोगकर्ताले कसैको मानप्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पिच (कुनै व्यक्ति, समूह वा समुदायविरुद्ध हिंसा वा घृणा फैलाउने वा सामाजिक सद्ंभाव बिगार्ने विषयवस्तु) मानिने काम गर्न पाइने छैन।

कानुनविपरीतका यस्ता कुरालाई गलत मनसायले सामाजिक सञ्जालमा पोस्ट, सेयर, लाइक, रिपोस्ट, लाइभ स्ट्रिमिङ, सब्सक्राइब, कमेन्ट, ट्याग, ह्यास्ट्याग वा मेन्सन गर्न पाइने छैन।

यस्ता कार्य गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई सरकारले ५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था विधेयकमा गरिएको छ।