गुल्मी-नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारले नागरिकमा आशा र भरोसा जगाएको बताउनुभएको छ । देशले छोटो समयमा धेरै उपलब्धि हासिल गरेको उल्लेख गदै उहाँले देशमा सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण गर्ने काममा सरकारले महत्वपूर्ण काम गरेको बताउनुभयो।
प्रेस चौतारी नेपालले आज सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले दुई ठूला पार्टी जुन उद्देश्यका साथ सरकारमा आएका छन् त्यो उद्देश्य पूरा गर्ने काममा लागिपरेको बताउनुभयो। उपमहासचिव ज्ञवालीले पछिल्लो समयमा केही विपक्षी दलका नेताले चरम निराशाको खेती गरेर देशलाई राजनैतिक अस्थिरतातर्फ लैजान खोजेको आरोप लगाउनुभयो
उहाँले सरकारबाट बाहिरिएपछि केही नेताले हतास, आवेग र कुण्ठामा जनतामा यस्ता निराशाका भाष्य निर्माण गर्ने काममा उद्यत बनेको टिप्पणी गर्नुभयो। उहाँले बिग्रिएको राजनीतिक अस्थिरतालाई अन्त्य गर्न, ओरालो लागेको देशको अर्थतन्त्रलाई माथि उकास्न, देशमा सुशासन कायम गर्र्दै मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न वर्तमान सरकार गठनको आवश्यकता परेको बताउनुभयो।
उपमहासचिव ज्ञवालीले पछिल्लो समयमा देशको राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि सँगै लडेका दुई ठूला पार्टीहरुले सरकारमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै गएको बताउनुभयो। डेढ वर्षसम्मको अस्थिर राजनीतिक अवस्थालाई राजनीतिक स्थायित्व सिर्जना गर्ने, अर्थतन्त्रलाई गतिशील बनाउने र जनतामा देखिएको निराशाको बादललाई हटाउँदै लोकतन्त्रप्रति जनतामा भरोसा जगाउने काममा सरकार क्रियाशील बनेर लागेको नेता ज्ञवालीले बताउनुभयो।
प्रतिक्रिया