विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विद्यार्थीहरुलाई उत्पादनमा जोड्ने अभियानमा विद्यालयहरु लाग्नु पर्ने बताउनुभएको छ।
आज झापाको दमकमा रहेको हिमालय माध्यमिक विद्यालयको ६९ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले आइटी र प्रविधिसँग शिक्षालाई जोडेर अघि बढ्नु पर्ने धारणा राख्नुभयो। उहाँले दातृ निकाय र प्रदेश सरकारसँग साझेदारीमा यस्ता कार्यक्रमहरु सञ्चालन गरिनु पर्ने बताउनुभयो। यसका लागि कोशी प्रदेश सरकार तयार रहेको उहाँले बताउनुभयो। आइटीको तालिम लगायतका काम र आयआर्जनसँग जोड्ने काममा कोशी प्रदेश सरकारले ध्यान दिइरहेको बताउनुभयो। शिक्षा, स्वास्थ्य र रोजगारीको अभावमा पहाडबाट तीव्र रुपमा बसाइँसराइ भइरहेको भन्दै उहाँले यसलाई रोक्न पनि गुणस्तरीय तथा आयआर्जनसँग जोडिने गरीको शिक्षा अहिलेको आवश्यक्ता रहेको उहाँले बताउनुभयो।
मुख्यमन्त्री कार्कीले उब्जाउयोग्य र पर्यटनको प्रचुर सम्भावना रहेको पहाडी र हिमाली क्षेत्रतर्फ बस्ती फर्काउने योजनामा प्रदेश सरकार रहेको उहाँले बताउनुभयो। यसका लागि संघीय सरकार र दातृ निकायसँग समन्वय गरेर अघि बढ्ने योजनामा प्रदेश सरकार रहेको उहाँले बताउनुभयो। यस्तै आज नै मुख्यमन्त्री कार्कीे झापाको गौरादहमा रहेको जनता माध्यमिक विद्यालयको ५७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा सहभागी हुनु भएको छ। गौरादह नगरपालिका १ मा रहेको सो विद्यालयले विद्यालयलाई सहयोग गर्ने र पूर्वशिक्षकसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको थियो। सम्मानितहरुलाई विद्यालयकोतर्फबाट मुख्यमन्त्री कार्कीले सम्मान पत्र हस्तान्तरण गर्नुभयो। अग्रज अभिभावक र शिक्षकहरुको कारण नै विद्यालयको उन्नयन र प्रगति भएको उहाँले बताउनुभयो।
प्रतिक्रिया