बर्दिया-प्रेस चौतारी नेपाल बर्दिया शाखाको अध्यक्षमा पुनः यज्ञ प्रसाद सापकोटा सर्वसम्मतले निर्वाचित हुनुभएको छ। बर्दियाको बढैयातालमा भएको ९औँ अधिवेशनबाट सापकोटाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो।
अधिवेशनबाट उपाध्यक्षमा दलबहादुर सुनार, महिला उपाध्यक्षमा सृजना वली, सचिवमा प्रकाश पौडेल, सहसचिवमा सरम चौधरी र राजकुमार विक, कोषाध्यक्षमा सौगात श्रेष्ठ निर्वाचित हुनुभएको हो।
त्यस्तै सदस्यमा मान बहादुर आले, दिनेश ठाकुर, जोधिराम चौधरी, मिलन विक र राज बहादुर क्षेत्री र केन्द्रीय प्रतिनिधिमा जीवन कला थापा(मिना), सुदिप अधिकारी र मानबहादुर चौधरी निर्वाचित भए भने प्रदेश प्रतिनिधिमा पुष्कर काफ्ले र सुमित्रा बराललाई चयन गरेको छ।
अधिवेशनमा सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं बर्दिया इन्चार्ज लक्ष्मण ज्ञवालीले जनसंगठनमा महत्वपूर्ण र उत्कृष्ट संगठन प्रेस चौतारी भएको बताउनु भयो । उहाँले प्रेस चौतारी नेपाल बर्दियाले खोज पत्रकारितातर्फ ध्यान दिनुपर्ने बताउँदै समाजमा भएका गतिविधिहरुलाई चुस्त दुरुस्त रुपमा अगाडि ल्याउनुपर्ने बताउनुभयो।
नेकपा एमाले बर्दियाका अध्यक्ष शालिकराम अधिकारीले प्रेस चौतारी नेपालले आफ्नो संगठनलाई सुदृढ बनाउँदै व्यवसायिकतातर्फ ध्यान दिनुपर्ने बताउनु भयो ।
प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डेले बर्दिया जिल्लाका जुझारु पत्रकार र पूर्व अध्यक्षहरुले प्रेस चौतारीलाई नवौँ जिल्ला अधिवेशनसम्म ल्याईपुर्याएको बताउनुभयो । उहाँले बर्दिया जिल्लाको विकास र व्यवसायिक पत्रकारिताको लागि प्रेस चौतारीले महत्वपूर्ण भूमिका खेल्दै आएको जनाउनु भयो।
प्रतिक्रिया