काठमाडौं-भारतको उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलाको संगम तटमा भागदौड हुँदा १४ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार भागदौडपछि प्रशासनको आग्रहमा १३ वटै अखाडाले आज मौनी अमावस्याको अमृत स्नान रद्द गरेका छन्। अखाडा परिषद्का अध्यक्ष रवीन्द्र पुरीका अनुसार संगम नाकामा अत्याधिक भीडभाडका कारण यस्तो निर्णय गरिएको हो। प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले मुख्यमन्त्री योगी आदित्यनाथसँग फोनमा घटनाको जानकारी लिएका छन्।
संगम नाकामा अफवाहका कारण भागदौड मच्चिएको हो । केही महिलाहरू भुइँमा लडे र मानिसहरू उनीहरूमाथि दौडे । दुर्घटनापछि ७० भन्दा बढी एम्बुलेन्स संगम तटपुगेका थिए । घाइते र मृतकलाई अस्पताल लगिएको छ । अहिले संगम क्षेत्रमा सर्वसाधारणको प्रवेश रोकिएको छ । भीड बढ्न नदिन प्रयागराज सहरमा पनि भक्तजनको आगमनमा रोक लगाइएको छ । त्यसका लागि सहरसँग सीमा जोडिएका जिल्लामा प्रशासनलाई सतर्कता अपनाइएको छ।
प्रतिक्रिया