काठमाडौं-नेकपा (एमाले)का नेता विष्णु रिजालले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको स्वागत गर्दै यसले नागरिक स्वतन्त्रताको सम्मान र सञ्जालको सदुपयोगमा टेवा पुर्याउने बताउनु भएको छ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता रिजालले सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर चरित्र हत्या गर्ने, आरोप लगाउने र अफवाह फैलाउने जस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको बताउनु भएको छ।
‘सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर चरित्र हत्या गर्ने, आरोप लगाउने, अफवाह फैलाउने, हुँदै नभएका कुराहरु प्रचार गर्ने, सामाजिक सद्भाव भड्काउने जस्ता असामाजिक तथा अमानवीय क्रियाकलाप नियन्त्रण आवश्यक छैन र ?,’ नेता रिजालले भन्नुभएको छ, ‘पक्कै पनि स्वतन्त्रता संकुचित नहोस् तर तपाईंले सामाजिक सञ्जालमा कुनै कुरा लेख्नुहुन्छ भने त्यसलाई पुष्टि गर्ने र जिम्मेवारी लिने जिम्मा तपाईंकै हुन्छ। पुष्टि गर्न नसके जरिवाना, क्षतिपूर्ति तिर्नु विल्कुल अनिवार्य हुनुपर्छ।’
विधेयकमा प्रस्तावित कडा दण्डसजायका प्रावधानले अपराध गर्नुअघि धेरै पटक सोच्ने वातावरण बन्ने नेता रिजालको विश्वास छ।
नेता रिजालले युरोप–अमेरिकामा सडक गति उल्लंघन गरेबापत तत्काल जरिवाना तिर्नुपर्ने उदाहरण दिँदै नेपालमा पनि यस्तै व्यवस्था लागू गर्नुपर्ने बताउनुभयो । हाल एक रुपैयाँ जरिवाना तिरेर अपराध छल्न सकिने अवस्थाको अन्त्य गर्नुपर्ने नेता रिजालको भनाइ छ।
‘ढिलै भए पनि सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक अघि आउनु स्वागतयोग्य छ। यसबाट नागरिक स्वतन्त्रताको सम्मान र सञ्जालको सदुपयोग हुन्छ। आज कुनै अपराध गरेमा रु. १ जरिवाना गरेर झारा टार्ने अभ्यासले अपराध नियन्त्रण हुँदैन। विधेयकमा प्रस्तावित दण्ड–सजायसम्बन्धी कडा प्रावधानहरुले अपराध गर्दा १० पटक सोच्ने बनाउँछ’ नेता रिजालले भन्नुभएको छ।
प्रतिक्रिया