बुटवल-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारले नागरिककाे आशा र भरोसा जगाउने काम गरेको बताउनुभएको छ। उपलव्ध सिमित साधन स्रोत र छोटो समयमा धेरै उपलब्धि हासिल गरेको दाबी गर्दै नेता ज्ञवालीले देशमा सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता रहेको बताउनुभयो।
प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले देशमा स्थायित्वका लागि दुई ठूला पार्टी (एमाले र कांग्रेस) मिलेर अहिलेको गठबन्धन बनेको र निराशा चिर्ने गरी सरकारले काम गरेको बताउनुभयो। उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘यो सरकार बनेपछि केही देखिने उपलब्धि भएका छन्, राजश्व बढेको छ, रोकिएका विकास निर्माणका काम अघि बढेका छन्, आयात निर्यात दुबै बढेको छ।’
पूर्व परराष्ट्रमन्त्री रहेका नेता ज्ञवालीले अहिले आएका अध्यादेशले निजी क्षेत्रमा उत्साह देखिएको र संसदमा दर्ता भएको सामाजिक सञ्जाल नियमनको विधेयकले सबैलाई मर्यादामा राख्ने, प्रेस स्वतन्त्रता कायम गर्ने र गलत सूचनाबाट सबैलाई जोगाउने बताउनु भयो। उपमहासचिव ज्ञवालीले देशभर सरकारी पीडितलाई अहिलेको सरकार बनेपछि ठूलो रकम फिर्ता गराएको र अहिले पनि निरन्तर काम भएको बताउनुभयो।
‘सहकारीको बेथिति हटाएको छ, बचत फिर्ता गर्ने पहिलो प्राथमिकता छ। कानुन बमोजिम अघि बढेको छ सरकार। सबै दलमा रहेका आरोपितहरूमाथि छानविन भइरहेको छ’, उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘यसमा पूवाग्रह राख्नुपर्ने होइन। एमालेमाथि आरोप लगाइएको छ, एमालेको प्रतिस्पर्धा रास्वपा होइन, राम्रो गरे जनताले सम्मान गर्छन् । यो समस्या गोर्खा मिडियामा हुँदाको हो दलसँगको होइन।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै उपमहासचिव ज्ञवालीले अस्थिरतामा रमाएर बस्ने व्यक्ति र पार्टीका कारण समय आएको बताउनुभयो। ‘देशमा अस्थिर बढाएर रमाउने दल, नेतालाई सबैले चिनेको अवस्था हो, अस्थिरता खेलाडीलाई छट्पटी देखिएको छ अहिलेको कामले, गठबन्धनमा समस्या आयो भनेर रमाउनेहरू पनि छन्, तर त्यो असम्भव कुरा हो’, उपमहासचिव ज्ञवालीले भन्नुभयो।
उपमहासचिव ज्ञवालीले अमेरिकी सरकारको पछिल्लो नीतिले त्यहाँबाट आउने सहायताका काम रोकिएको र यसले पछिसम्म पनि असर पार्ने बताउनुभयो। ‘ट्रम्पको चुनावी घोषणामै केही यस्ता सहयोग कटाउने उल्लेख थियो, सुरक्षित मातृत्व र आप्रवासी नीतिमा पछिसम्म कडाइ नै हुन्छ,त्यसैले नेपालको अर्थव्यवस्थामा पनि यसले प्रभाव पार्न सक्छ’, उपमहासचिव ज्ञवालीले भन्नुभयो।
प्रतिक्रिया