अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

देशको अर्थतन्त्रलाई कोमाबाट आइसियुमा फर्काएका छौं: सञ्चारमन्त्री गुरुङ

देशको अर्थतन्त्रलाई कोमाबाट आइसियुमा फर्काएका छौं: सञ्चारमन्त्री गुरुङ


काठमाडौं-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कोमामा रहेको देशको अर्थतन्त्रलाई आइसियुमा ल्याइसकेको भन्दै अब छिट्टै लयमा फर्काउने बताउनुभएको छ।

बिहीबार काठमाडौंमा नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले अहिले सरकारले मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्न काम गरिरहेको बताउनु भयो।

सञ्चारमन्त्री गुरुङले अर्थतन्त्रलाई लयमा फर्काउने उद्देश्यले नै अहिले कानुनी र नीतिगत क्षेत्रमा रहेका समस्या समाधानका लागि अध्यादेश ल्याइएको बताउनुभयो । सञ्चारमन्त्री गुरुङले आइटी क्षेत्रलाई उद्योगको रूपमा स्थापित गर्न पनि अध्यादेशमा व्यवस्था गरिएको बताउनुभयो।

सञ्चारमन्त्री गुरुङले भन्नुभयो, ‘नेपाल सरकारले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्नको लागि काम गरिरहेको छ। हामी सरकारमा आउँदा त अर्थतन्त्र साँच्चै नै कोमामा थियो। त्यो कोममा भएको अर्थतन्त्रलाई हामीले कमसेकम अहिले आइसियुमा ल्याएका छौँ । अब त्यसलाई हामी बाहिर निकाल्न चाहन्छौँ । त्यही उद्देश्यका साथ कानूनी क्षेत्रमा, नीतिगत क्षेत्रमा रहेका समस्याहरु सबै जुन बाधकहरु थिए, त्यसलाई हल गर्नको लागि हामीले अध्यादेश जारी गरेका छौँ। यो अध्यादेशले धेरै कुराहरु फुकाएको छ भन्ने मलाई लाग्छ।’