काठमाडौं-नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले पार्टीमा माथिको आर्सीवाद पाउँदासम्म तल जानु पर्दैन भन्ने मानसिकता त्याग्नु पर्ने बताउनुभएको छ।
बिहीबार प्रेस चौतारी नेपाल सुनसरीको आठौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता ढकालले माथि मात्र घुम्ने, तल नजाने प्रवृत्तिले पार्टीका जनतासँगको सम्बन्ध पातलिएको बताउनुभयो। त्यसैलाई चिर्न एमालेले तीन महिने गाउँकेन्द्रित अभियान सञ्चालन गर्न लागेको उहाँले प्रष्ट पार्नुभयो।
एमालेले राखेको मिसन २०८४ को लक्ष पूरा गर्न पनि यो जराकेन्द्रित अभियानले महत्त्व राखेको उहाँले बताउनुभयो। ‘एमालेका नेता र जनसंगठनहरु मूलतः जमिन तिर फर्कने भन्दा पनि माथि आकाशतिर फर्कने प्रवृत्तिबाट हुर्कन थाल्यो, नेतृत्वको संरक्षण भयो भने, माथि रिझाइयो भने तल रिझाइ रहनु पर्दैन कि भन्ने बुझाइले पनि जनतासँगको हाम्रो सम्बन्ध पातलियो’, उहाँले भन्नुभयो।
अहिले केपी ओलीको नेतृत्वमा बलियो सरकार सञ्चालनमा रहेको उहाँले बताउनुभयो। कांग्रेस, एमाले लगायतका दल मिलेर बनेको यो सरकारको आकर्षण बढ्यो भने फेरी एमाले सरकारमा आउला र देशमा अस्थिरता कायम गराउन नसकिएला भनेर केही तत्त्व दलहरू माथि अविश्वास फैलाउने प्रयत्नमा लागेको नेता ढकालले स्पष्ट पार्नुभयो।
अब सरकारमा जानको लागि कांग्रेस एमालेबीच प्रतिस्पर्धा हुने नेता ढकालले बताउनुभयो। आउने निर्वाचन कांग्रेस र एमाले एक्ला एक्लै आफ्ना चुनाव चिन्हबाट चुनाव लड्ने उहाँले जानकारी दिनुभयो।
नेपालमा मूल नेतृत्वलाई कमजोर बनाइयो भने मात्र देशमा अस्थिरता मच्चाउन सकिन्छ भनेर केपी ओलीलाई कमजोर बनाउन धेरै शक्ति लागेका उहाँले बताउनुभयो। केपी ओलीको दूरदृष्टि, राष्ट्र र राष्ट्रियता प्रतिको भावका अगाडि कसैको केही नलाग्ने नेता ढकालको भनाइ छ।
अहिले पनि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बदनाम गराउन देश भित्र र बाहिर बसेर केही व्यक्तिहरू अति तल झरेर लागेको नेता ढकालले बताउनुभयो। ‘यो केपी ओली माथि मात्रको आक्रमण मात्र होइन, यो एमाले सिध्याउने साझा अभियान हो भन्ने हामीले बुझ्न पर्दछ’, उहाँले भन्नुभयो।
अहिले केही मानिसहरूलाई केपी ओलीको विकल्प बन्न सक्छु भन्ने भ्रम भएको बताउँदै नेता ढकालले त्यो सम्भव नहुने बताउनुभयो । ‘बेमौसमको बाजा बजाएर केही हुँदैन, त्यसको पनि समय हुन्छ’, उहाँले भन्नुभयो।
कहिलेकाहीँ समाजमा अति भ्रष्ट व्यक्तिहरूले अगुवाइ गर्दा पनि वाह वाह गर्ने परिस्थित बन्ने बताउँदै नेता ढकालले त्यसमा सचेत हुनुपर्नेमा जोड दिनुभयो। धरानमा खानेपानीको नाममा ठूलो रकम अनियमितता गर्नुभएका त्यहाँका मेयर हर्क राई अहिले पानी खुवाउन नसकेपछि चर्चामा आउन रित्तो गाग्री बोकेर काठमाडौं पुगेको उहाँले सुनाउनुभयो।
धरानमा पानी ल्याउने सन्दर्भमा विदेशका संस्था र व्यक्तिले कति रुपैँया दिए भन्ने कुरा खोजी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । धरानमा श्रमदान गर्न जानेलाई वनभात खुवाएर एक हजार रुपैँया दिँदै पठाउने पैसा कहाँबाट आयो र कति खर्च भयो भन्ने कुरा राईले देखाउनु पर्ने ढकालले बताउनुभयो।
समाजमा योगदान गरेका, हण्डर खाएका पार्टीहरूको बारेमा कुरा काट्न सजिलो भए पनि त्यसरी स्थापित हुन निक्कै गाह्रो हुने ढकालले बताउनुभयो।
अहिले रवि लामिछाने प्रत्येक अदालतमा हाजिर हुनु पर्ने अवस्था आएको उहाँले टिप्पणी गर्नुभयो। अहिले नेतृत्व र नीतिको बारेमा आलोचना गर्ने मानिसहरूले कि त फेग नाममा कि त देश बाहिर बसेर अनर्गल प्रचार गरिरहेका उहाँले बताउनुभयो । यही समाजमा बसेका व्यक्तिले वास्तविकता बुझ्ने बताउँदै त्यो कुरा बुझाएर अघि बढ्नु पर्नेमा ढकालले जोड दिनुभयो। यो काममा प्रेस चौतारी आबद्ध पत्रकार लाग्नु पर्ने उहाँले बताउनुभयो।
प्रतिक्रिया