काठमाडौं-प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी नेपालले नेपालको पत्रकारिता र सूचनाको अधिकारका क्षेत्रमा गौरव गर्न लायकको काम गरेको बताउनुभएको छ।
बिहीबार प्रेस चौतारी नेपाल सुनसरीको आठौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले प्रेस चौतारी नेपालका अग्रजहरूले पञ्चायती निरङ्कुश व्यवस्थाका विरुद्ध र नयाँ पुस्ताले लोकतन्त्र स्थापनाका लागि सशक्त कलम चलाउने काम मात्र गरेका नभई आन्दोलनको अग्रमोर्चामा उभिएको कारण प्रेस चौतारी नेपाल गौरवपूर्ण संगठन भएको दाबी गर्नुभयो।
२०६२/६३ को जनआन्दोलनमा राजनीतिक दल र नेपाल पत्रकार महासंघ समेत बाहिर निस्कन नसकेको बेला प्रेस चौतारी नेपालले आन्दोलन सुरु गरेको उहाँले स्मरण गराउनुभयो। त्यति बेला नेपाल पत्रकार महासंघ बनेपा तिर भाग्दै गर्दा प्रेस चौतारी नेपालले आन्दोलनको अगुवाइ गरेको बस्नेतले बताउनुभयो। ‘गणतन्त्र स्थापनमा हामीले अगुवाइ गर्यौँ, त्यस कारण प्रेस चौतारी नेपाल गौरवशाली छ, हामीले कानुन निर्माणको लागि अगुवाइ गर्यौँ, त्यस कारण प्रेस चौतारी नेपाल गौरवशाली छ, आफ्नै पार्टीको सरकार हुँदा आएको मिडिया काउन्सिल विधेयकको विरुद्ध डटेर प्रतिवाद गरेर फिर्ता लिन लगायौँ, हामी अधिकारको लागि आफ्नैसँग पनि झुक्दैनौँ, त्यस कारण प्रेस चौतारी नेपाल गौरवशाली छ’, उहाँले भन्नुभयो।

नेपालको पत्रकारिताको इतिहासमा कसैले नसोचेको काम प्रेस चौतारी नेपालले गर्न सफल भएको उहाँले बताउनुभयो। नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो महिला अध्यक्ष बनाउन सफल भएर प्रेस चौतारी नेपालले अर्को गौरव गर्न लायक काम गरेको बस्नेतले प्रष्ट पार्नुभयो।
प्रेस चौतारी नेपालका सदस्यहरू वैचारिक रूपमा प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो। एकादुई ऐजेरु बाहेक प्रेस चौतारी नेपालमा गद्दारी गर्ने मानिसहरू नरहेका बस्नेतले बताउनुभयो। संगठनको हित विपरीत काम गर्ने कुनै पनि सदस्यलाई आउने अधिवेशनमा उम्मेदवार बन्न नदिने उहाँले प्रष्ट पार्नुभयो।
नेपालका प्रेससँग सम्बन्धित जति पनि कानुन बने त्यसमा प्रेस चौतारी नेपालको योगदान रहेको उहाँले बताउनुभयो। यो पेसा र विचार प्रतिको प्रतिविद्धताले नै सम्भव भएको बस्नेतले स्पष्ट पार्नुभयो।
प्रेस चौतारी नेपाल वैचारिक रूपमा प्रष्ट र व्यावसायिक रूपमा दक्ष पत्रका बनाउने अभियानमा लागेको उहाँले बताउनुभयो। समृद्धिका लागि सञ्चार भन्ने मूल नारा लिएर संगठन अघि बढेको उहाँले बताउनुभयो। पत्रकारिताले सत्यको आधारमा तथ्य स्थापित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
प्रेस चौतारी नेपालका सदस्य पत्रकार मात्र नभएर वैचारिक नेता पनि भएको उहाँले बताउनुभयो। प्रेस चौतारी नेपाल एमालेको बिचरा बोकेर हिँडेको संगठन र एमाले नेपालको गौरवशाली संगठन भएको बस्नेतले प्रष्ट पार्नुभयो। विचार र व्यवहारको हिसाबले नेकपा एमाले नेपालको सबैभन्दा उत्कृष्ट पार्टी भएको त्यसका अध्यक्ष केपी ओली समसामयिक राजनीतिको एक नं नेता भएको बस्नेतले बताउनुभयो।
उहाँले माओवादी जनयुद्धको नाममा भएको हिंसाले धेरै मानिसको ज्यान लिएको उहाँले बताउनुभयो। क्रान्तिबाटै राज्य सत्ता कब्जा गर्ने भनेर चन्दा नदिएको भनेर घाँटी रेटेर, शिक्षकलाई काटेर, पत्रकाको हात काटेर हिँडेको माओवादी एमालेले नै बोकेको जनताको बहुदलीय जनवादको बाटोमा आएकोले नेपालको राजनीतिका नेता पार्टी नेकपा एमाले नै भएको उहाँले बताउनुभयो। २०४६ को परिवर्तनदेखि गणतन्त्र ल्याउनसम्म नेतृत्वदायी भूमिका खेलको कारण नेकपा एमाले गौरवशाली पार्टी भएको बस्नेतले स्पष्ट पार्नुभयो।
मदन भण्डारीदेखि, मनमोहन अधिकारी र केपी ओलीसम्म आइपुग्दा नेकपा एमाले नै देशको लागि नेतृत्वदायी भूमिकामा निर्वाह गर्ने पार्टी भएको कारण नेकपा एमाले गौरवशाली पार्टी भएको उहाँले दाबी गर्नुभयो।
प्रतिक्रिया