नवलपरासी-पश्चिम नवलपरासीमा प्रहरीले लागुऔषध नियन्त्रणमा लिन चार राउन्ड गोली प्रहार गरेको छ। हिजो राति ८ बजे जिल्लाको रामग्राम नगरपालिका–१२ पचगाँवा बस्ने राजेश लोनियाको घरबाट लागुऔषध (ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ) नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली प्रहार गरेको नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो।
लोनियाले बिक्री वितरणका लागि लागुऔषध घरमा राखेको गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको कमान्डमा पाँच जनाको टोली उनको घरमा पुगेर नियन्त्रणमा लिन खोज्दा झडप भएको बोहराले बताउनु भयो।
प्रहरीले परिचय दिएर खानतलासी गर्दा लोनियाले प्रहरीमाथि आक्रमण गर्न खोजेका थिए । अवस्था तनावपूर्ण बनेको र उनी भाग्न खोज्दा प्रहरीले गोली प्रहार गर्दा लोनियाको बायाँ साप्रामा एक राउन्ड गोली लाग्दा उनी घाइते भएको बोहराले बताउनु भयो । उनको जिल्लास्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । त्यस स्थानबाट ९३ पुरिया ब्राउन सुगर नियन्त्रणमा लिएको सूचना अधिकारी बोहराले बताउनुभयो ।
प्रतिक्रिया