काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने बताउनुभएको छ।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखापरेका सबल र दुर्बल पक्ष, अभ्यासका क्रममा देखापरेका जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने स्पष्ट गर्नुभयो।
‘यसका लागि सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले)ले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएको छ। त्यससँगै सरकारपक्षीय दलहरूसँग छलफल गरिनेछ। विभिन्न पक्षसँग सघन विमर्श गरी संविधान संशोधन विषयको पहिचान गरिनेछ’, प्रधानमन्त्री ओलीले भन्नुुभयो, ‘पहिचान गरिएका विषयमाथि संसद्मा प्रतिनिधित्व गर्ने वा बाहिर रहेका दल र सरोकारवालासँग छलफल गरिनेछ । हामी स्पष्ट छौँ, पार्टीहरूका आ-आफ्नै धारणा र पोजिसन हुनसक्छन्। मिलेका कुरामा साझा धारणा बनाइनेछ, नमिलेका कुरामा बहस र छलफल गरिनेछ।’
प्रधानमन्त्री ओलीले संविधान संशोधन विधेयक ल्याउने काम सरकारको भएको र बहस÷छलफलमा आधारित निष्कर्षबाट सरकारले साझा धारणा बनाइ त्यसैका आधारमा संशोधन प्रस्ताव तयार पार्ने बताउनुभयो।







प्रतिक्रिया