अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सरकारले ल्याएको अध्यादेश जनताका पक्षमा छन्: भगवती न्यौपाने

सरकारले ल्याएको अध्यादेश जनताका पक्षमा छन्: भगवती न्यौपाने


काठमाडौँ-राष्ट्रिय सभामा नेकपा (एमाले) संसदीय दलकी प्रमुख सचेतक भगवती न्यौपानेले सरकारले ल्याएको अध्यादेश जनताका पक्षमा रहेको बताउनु भएको छ।

राष्ट्रियसभाको आजदेखि शुरु भएको सत्रौँ अधिवेशनमा प्रमुख सचेतक न्यौपानेले यस्तो बताउनु भएको हो। भूमिविहीनका समस्या समाधान गर्न, जनतालाई सेवा प्रभाव गर्न भएका असहज अवस्थालाई सहज गर्न भूमि व्यवस्था ऐन आएको उहाँको भनाइ थियो। सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सहकारीसम्बन्धी ऐन आएको सचेतक न्यौपानेले बताउनु भयो।

सचेतक न्यौपानेले बनेका ऐन कार्यान्वयनको अवस्थाका विषयमा मूल्याकंन गर्ने अभ्यास सुरु हुने पर्ने बताउनुभयो। उहाँले नयाँ ऐन कानुन बनाउने मात्रै सांसदको जिम्मेवारी नभएको उल्लेख गर्दै विगतका ऐनको अनुगमन गर्नुपर्ने सुझाव दिनुभयो।

प्रमुख सचेतक न्यौपानेले परिवर्तन र लोकतन्त्रका पक्षमा सबैले सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो। ‘जनताका सामु गरेका वाचा पूरा गर्न हामी सबै एकाकार हुन जरुरी छ। यो अधिवेशन विधेयकको अधिवेशन हुनेछ। कानुन बनाउने सन्दर्भमा पनि एकता जरुरी छ’, प्रमुख सचेतक न्यौपानेले भन्नुभयो।

प्रतिनिधि सभामा पठाएका सात विधेयक विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै सचेतक न्यौपाने तीन विधेयक राष्ट्रियसभामा दर्ता भएका जानकारी दिनुभयो। ‘प्रतिनिधि सभामा धेरै विधेयक थुप्रिनु हुँदैन। राष्ट्रिय सभालाई महत्त्व दिएर विधेयक दर्ता हुन थालेका छन्। विधेयकलाई कसरी जनताका पक्षमा बनाउने, कसरी मुलुकको हितका लागि बनाउने भनेर छलफल गर्नुपर्छ’, प्रमुख सचेतक न्यौपानेले बताउनुभयो।