काठमाडौँ-जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले संसद्को हिउँदे अधिवेशनलाई बढीभन्दा बढी प्रभावकारी बनाउने र अधिकतम कानुन निर्माणमा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा अध्यक्ष राउतले सरकारले लामो समय संसद् बन्धक बनाएको आरोप लगाउँँदै सञ्चालन भएको बेला बढीभन्दा बढी काम गर्न सक्नुपर्ने बताउनुभयो। ‘संसद्को साँचो सरकारसँग भएकाले लामो समय बन्धक भयो। ढिलै भए पनि हामीले जनताका कुरा संसद्मा राख्न पाएका छौँ। अधिकतम ऐन कानुन यो संसद्बाट पारित गरौँ’, उहाँले भन्नुभयो।
सुशासन र लगानी प्रवद्र्धनका लागि आएका अध्यादेश स्वागतयोग्य रहेका उहाँले बताउनुभयो। अध्यादेशमार्फत सूचना प्रविधिका क्षेत्रमा काम गरिरहेका कम्पनीहरुलाई सहजीकरण गर्नसक्ने व्यवस्था सकारात्मक रहेको अध्यक्ष राउतको भनाइ थियो। भूमिहीनलाई व्यवस्थापन गर्ने विषय राम्रो भएको उहाँले बताउनुभयो। ‘वास्तविक भूमिहीन पहिचान गरेर जग्गा वितरण गर्नुपर्छ’, उहाँले भन्नुभयो ।
प्रतिक्रिया