रामेछाप-नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले एमाले पार्टी माथि निरन्तर आक्रमण भइरहेको बताउनुभएको छ।
शनिबार नेकपा एमाले रामेछापले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै नेता ढुङ्गेलले एमाले माथि गरिएको नियोजित दुष्प्रचारको प्रतिवाद गर्न आवश्यक रहेको बताउनुभयो।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीमाथि पत्याउनै नसक्ने र पुष्टि हुन नसक्ने आरोपहरू लगाउँदा एमाले कार्यकर्ता मौन बस्न नसक्ने नेता ढुङ्गेलले स्पष्ट पार्नुभयो। ‘मिस इन्फरमेसन र डिस इन्फरमेशन चिर्न सक्ने पार्टी कार्यकर्ता आजको आवश्यकता हो, पार्टी नेतृत्वको रक्षा गर्नु कार्यकर्ताको दायित्व हो’, नेता ढुङ्गेलले भन्नुभयो।
५ लाख बढी सदस्य भएको पार्टीका विरुद्ध साना साना झुण्डले सामाजिक सञ्जाल मार्फत गरेको आक्रमण सफल नहुने ढुङ्गेलले बताउनुभयो। अहिले देशमा ठग र उनीहरूलाई संरक्षण गर्नेहरूको ठुलो स्वर देख्दा चकित हुनुपर्ने स्थिति रहेको नेता ढुङ्गेलले सुनाउनुभयो। ‘रवि लामिछाने जस्तो ठग जेल बाहिर एक जना पनि छैन, तैपनि उनीहरूकै स्वर ठुलो छ’, ढुङ्गेलले भन्नुभयो ।
राजनीतिमा कुनै लगानी नभएका अपराधपूर्ण मानसिकताले ग्रस्त भएका व्यक्ति अहिले राजनीतिक आवरणमा आएका ढुङ्गेलले बताउनुभयो। यसको वास्तविकता नागरिकलाई बताइदिनु पर्ने नेता ढुङ्गेललेको भनाई छ ।

पार्टी विचार र दृष्टिकोण व्यक्तिभन्दा बाहिर नरहेको उहाँले बताउनुभयो। ढुङ्गेलले मानव सर्वोच्चताको सिद्धान्त नै मार्क्सवाद भएको बताउनुभयो । ‘मान्छे स्वचालित प्राणी मात्र होइन, मान्छेसँग चेतना मात्र छैन, चिन्तन पनि गर्छ’, उहाँले भन्नुभयो ।
ढुङ्गेलले पार्टी सिष्टम भित्र चल्नु पर्ने बताउनुभयो । पार्टीको बन्द छलफलमा असन्तुष्टि राख्ने सकिने भए पनि बाहिर पार्टी र नेताहरूको विरुद्ध जथाभाबी बोल्ने कम्युनिष्ट पार्टीमा नअटाउने उहाँले प्रष्ट पार्नुभयो । ‘पार्टीलाई अराजकताको भिडबाट जोगाउनु पर्ने ढुङ्गेलले बताउनुभयो । पार्टीलाई असर गर्ने कुरा कुनै पनि पार्टी सदस्यले बोल्नु हुँदैन’, उहाँले भन्नुभयो ।
कस्तुरीले आफ्नो वीणा खोजे जस्तै मानिस आफ्नो मस्तिष्कको उपयोग नगरी सुख खोज्न बाहिर दौडिरहेको उहाँले बताउनुभयो । त्यही मानव सर्वोच्चताको विश्लेषण गर्ने सिद्धान्त मास्कवाद भएको ढुङ्गेलले प्रष्ट पार्नुभयो । ‘संसार बदल्ने क्षमता मानिसले राख्छ, त्यो मानिसलाई बदल्ने क्षमता मार्सवादले राख्छ, त्यसैले मार्क्सवाद समाज परिवर्तनको सिद्धान्त हो, नेकपा एमाले समाज परिवर्तन गर्ने पार्टी हो’, उहाँले भन्नुभयो ।
देशले अब राजनीतिक स्थायित्व खोजेको बताउँदै ढुङ्गेलले त्यो पुरा गर्ने पार्टी एमाले मात्रै भएको बताउनुभयो । ‘६/६ महिनामा सरकार फेर्दा काम गर्न सकिएन, नागरिकमा निराशा बढ्यो, त्यसैले एमालेको दृष्टिकोण राजनीतिक स्थिरता हो, त्यसको लागि एकल बहुमतको सरकारको आवश्यकता हो’, उहाँले भन्नुभयो ।
स्थिर सरकारले मात्र देशमा विकास र समृद्धि दिन सक्ने ढुङ्गेलले बताउनुभयो । स्थिर सरकार नहुँदा राष्ट्रियता समेत संकटमा परेको कारण नेकपा एमालेको प्रमुख एजेण्डा राष्ट्रियताको नारा भएको उहाँले स्पष्ट पार्नुभयो । छिमेकीसँग सीमा समस्यामा अल्झिरहने फुर्सद एमालेलाई नभएको बताउँदै उहाँले सीमा समस्याको स्थायी समाधान गर्नुपर्ने र त्यो क्षमता एमालेसँग मात्र भएको पनि उहाँले बताउनुभयो ।
नेकपा एमाले सामाजिक सुरक्षाको ग्यारेन्टि गर्ने स्पष्ट दृष्टिकोण राख्ने पार्टी भएको उहाँले दाबी गर्नुभयो । त्यसै गरी एमाले देशमा जागरण र सुशासनको लागि काम गर्ने पार्टी भएको ढुङ्गेलले बताउनुभयो । ‘एमालेलाई राष्ट्रिय शक्ति नबनाउँदासम्म सुशासन, विकास र समृद्धि सम्भव छैन’, उहाँले भन्नुभयो ।
प्रतिक्रिया