काठमाडौं-नेकपा एमालेका राष्ट्रियसभा सदस्य गोपाल भट्टराईले अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशको विरोध किन गरेको भन्दै प्रश्न गर्नुभएको छ।
आइतबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई इंगित गर्दै यस्तो बताउनु भएको हो।
‘विगतमा आज सदन बन्द गर्ने र भोलि अध्यादेश ल्याएर पार्टी फुटाउने काम भएको होइन र ? मलाई त अचम्म के लाग्छ अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको विरोध गरेको छ। ल्याउनु हुँदैन थियो भन्न मिल्छ र ?,’ सांसद भट्टराईले भन्नुभयो, ‘सरकारले जनतालाई केही डेलिभरी दिनुपर्ने आवश्यकता देख्यो र अध्यादेश ल्यायो। हामीले सदनमा भनेका हौँ, कानून झन्झटिला भए, विदेशी तथा स्वदेशी लगानी आउन सकेनन्, फाइलहरु महिनौँ रोकिने लगायतका झन्झट धेरै भयो। लगानीकर्ता आकर्षित हुन सकेनौँ भन्यौँ। त्यसको लागि सात दिनभित्र टुंगो लगाउनुपर्छ भन्दा बेठिक भयो र ?’
उहाँले देशमा लगानीको वातावरण सिर्जना गर्न र अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्याइएको बताउनुभयो। अध्यादेश ल्याइयो भन्नु भन्दा अध्यादेश कार्यान्वयनमा जोड दिन सरकारलाई दबाब दिनुपर्ने सांसद भट्टराईको भनाइ छ।
प्रतिक्रिया