काठमाडौं-विपक्षी दलहरुको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। कांग्रेस सांसद रामहरि खतिवडाले बोलेको अभिव्यक्तिप्रति आपत्ति जनाएर विपक्षी दलहरुले अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय र शून्य समयको प्रक्रिया पूरा भइसकेपछि सभामुखको आसनमा रहनुभएका उपसभामुख इन्दिरा राना मगरले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न समय दिनुभयो।
सांसद खतिवडाले अदालत परिसरमा कानुन व्यवसायी कुटिएकोलगायतका विषयमा आफ्नो धारणा राख्नुभयो। सांसद खतिवडाले आफ्नो मन्तव्य राखेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नियमापत्ती जनाउनुभयो।
उहाँले सत्तापक्षीय सांसदलाई कुन नियममा रहेर आकस्मिक र शून्य समय सकिएपछि बोल्न दिइयो भन्दै प्रश्न गर्नुभयो । सभामुखको आसनमा रहनुभएका उपसभामुखले सांसद खतिवडाले आकस्मिक समयमा नै नाम टिपाउनु भएको भए पनि छुटेका कारणले बोल्न दिइएको बताउनुभयो ।
नेकपा ९माओवादी केन्द्र०लगायतका विपक्षी दलका सांसदले कुन विधि र प्रक्रियाका आधारमा सत्तापक्षीय सांसदलाई पटक पटक बोल्न दिइएको हो भन्दै प्रश्न उठाएपछि उपसभामुख रानाले यसमा के भएको हो अध्ययन गर्न सचिवालयलाई निर्देशन दिइसकिएको बताउनुभयो । तर पनि विपक्षी दलका सांसदहरुले चित्त बुझाउनुभएन ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकलाई विधि र प्रक्रियाअनुसार चलाउनुपर्ने बताउनुभयो । विपक्षी दलको लगातारको विरोधपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी गराउनुभयो ।
विपक्षी दलका सबै सांसदहरु उठेपछि अहिले सदन अवरुद्ध भएको छ। शून्य समय सकिएपछि सांसद खतिवडालाई बोल्न दिइएको थियो।
प्रतिक्रिया